गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै प्रचण्डले भने-देशको रक्षाका लागि मप्रति गरेको भरोसा टुट्न दिने छैन


काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाले दिएको सुझावलाई कहिल्यै नबिर्सने बताएका छन् ।
कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा श्रद्धा एवं सम्मान प्रकट गर्दै प्रचण्डले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि आफूप्रति देखाएको भरोसा र दिएको सुझावलाई कहिल्यै नबिर्सने बताएका हुन् ।
शान्ति सम्झौताको तस्बिर राख्दै सामाजिक संजालमा प्रचण्डले लेखेका छन्, ‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु । उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।’
२०६३ मंसिर पाँच गते तत्कालीन प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।