`

सरकार डिजिटल मिडियालाई नियन्त्रण गर्ने मुडमा छैनः प्रधानमन्त्री ओली

Nepal One HD १५ चैत २०८१ ८:१३
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुःखद भएको बताएका हुन् ।

‘प्रविधिको विकाससँगै डिजिटल मिडियामा हरेक नागरिकको सहजै पहुँच भएकाले सामाग्री उत्पादन तथा प्रशारण गर्ने डिजिटल सामाग्री उत्पादहरु झनै जिम्मेवार हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

पछिल्लो समय समाजमा नकारात्मक सन्देशहरु फैलाउने पत्रकारिताको न्यूनतम मर्यादा विपरीत कार्य गर्ने लगायतका गतिविधिहरु बढेको भन्दै त्यसलाई सुधार्ने नेतृत्व डिम्यानले गर्नुपर्ने बताए ।

डिम्यानका पदाधिकारीहरुले सरकारले राष्ट्रिय सभामा पेश गरेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक डिजिटल मिडियामैत्री बनाउन माग आग्रह गरेका थिए ।

डिम्यानले उठाएका सवाललाई सकारात्मकरुप लिएको भन्दै प्रधानमन्त्री ओलीले व्यवसायिकरुपमा कानुनसंवत सञ्चालनमा आएका डिजिटल मिडियाहरुलाई सरकारले संरक्षण गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘समाजमा नकारात्मक सन्देश र भ्रम फैलाउनेहरू बढेका छन् त्यसैले विद्येयक नियन्त्रणका लागि होइन, नियमनका लागि ल्याइएको हो, सकारात्मक सुझावहरु समेटिने छन्।’

प्रधानमन्त्री ओलीले कानुनसम्वत संचालनमा आएको डिजिटल मिडियाहरु संगठित भएकोमा खुशी व्यक्त गर्दै डिजिटल मिडियाहरुमा देखिएको विकृत अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।


प्रतिक्रिया