बालेनलाई ज्ञानेन्द्र शाहीको सुझावः टुकुचामा गाडी हालौं, छोड्नु हुँदैन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई टुकुचामा गाड्ने आफ्नो निर्णयबाट पछि नहट्न आग्रह गरेका छन् ।
बिहीबार सामाजिक संजालमार्फत शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई जवर्जस्ती कार्यालय प्रवेश गराएको भन्दैमा आफ्नो निर्णयबाट पछि नहट्न आग्रह गरेका हुन् । शाहीले लेखेका छन्, ‘टुकुचामा गाडी हालौं छोड्नु हुँदैन। जबरजस्ती गरे भन्दैमा पछि हटनु हुँदैन। मर्दको बोली ,बन्दुकको गोली कहिल्यै फिर्ता हुनु हुदैन ।’
बिहीबार बालेन नभएको मौका छोपी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारीले कार्यालय प्रवेश गराएका थिए । त्यसक्रममा महानगरमा तनाव उत्पन्न भएको थियो । केह दिनअघि बालेनले प्रमुख प्रशासकीय अधिकृत नपठाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका थिए ।
बालेनले भनेका थिए, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!’ प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कार्यालयमा हाजिर गर्न नदिने पक्षमा बालेन छन् । तर उनी नभएको मौका छोपी बिहीबार उनलाई कार्यालयमा प्रवेश गराइएको थियो ।