`

तिनकुनेको घटना हिंसात्मक, अमानवीय र अमार्यादितः गृहमन्त्री लेखक

Nepal One HD २२ चैत २०८१ १३:१४
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत शुक्रबार काठमाडौंको तिनकुने भएको हिंसात्मक घटना व्यवस्था उट्याउने उद्देश्यले भएको दाबी गरेका छन् ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले घटना कुनै राजनीतिक दल प्रेरित नभएको बताएका हुन् । उनले घटना अमानवीय भएको समेत बताए ।

उनले भने, ‘कार्यक्रम हिंसात्मक, अमानवीय, अमार्यादित र उच्छिङ्खल ढंगले भएको छ । यो प्रदर्शनको उद्देश्य नेपालको वर्तमान संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने, समावेशी चरित्र समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।’

गृहमन्त्रीले फागुन ७ को पूर्वराजाको अभिव्यक्ति र विगतका पृष्ठभूमिलाई केलाएर हेर्दा व्यवस्था खारेज गर्ने गरी अगाडि बढेको देखिने बताए । उनले निजी घर, सञ्चार गृह, दमकल र प्रहरीलाई समेत आक्रमण भएको बताए।

उनले भने, ‘आफ्ना अगुवाबाट उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी संचारगृहमा अक्रमण तथा आगजनी, राजनीतिक दलको कार्यालय र निजी घरमा तोडफोड र आगजनी भयो । भाटभटेनी तोडफोड भयो । जडिबुटीको उद्योगमा आगो लगाएर पूर्ण ध्वस्त बनाइयो। यसलाई राजनीतिक भन्न मिल्दैन ।’

गृहमन्त्री लेखकले तिकुनेमा भीडलाई उत्तेजक बनाउने काम भएको र त्यसलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनुपर्ने अवस्था सृजना भएको बताए ।

उनले भने, ‘प्रदर्शनको क्रममा दिउँसो साढे १ बजे दुर्गा प्रसाइँले सुरक्षाकर्मीमाथि गाडी गुडाउने प्रयास गरेपछि भिडले सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेको हो । मञ्चमा बोल्नेहरुले नजिकैका संवेदनशील क्षेत्रलाई देखाउँदै अराजक भिडलाई अघि बढ्न, संसद भवन नै कब्जा गर्न निर्देशन दिएपछि विध्वंश मच्चिन थालेको हो।’

गृहमन्त्रीले हिंसात्मक भिडले मानिस छन् भन्ने थाहा हुँदाहुँदै घरमा आगो लगाउने काम गर्दा पत्रकार सुरेश रकजकको मृत्यु भएको बताए । उनले आगलागी नियन्त्रणको लागि आएको दमकल र सुरक्षा निकायको गाडीमा आक्रमण गरेकाले समयमै आगो निभाउन नसकिएको बताए ।


प्रतिक्रिया