`

आठ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

Nepal One HD २७ चैत २०८१ १७:३२
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा डेढ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । आर्थिक वर्षको आठ महिनामा साढे १० खर्ब भन्दाबढी रेमिट्यान्स आउदा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु आर्थिक वर्षमा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख छ ।

फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा डलरको तुलनामा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धिदर बढी देखिएको हो ।

माघ मसान्तमा ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढेको हो । यस्तै चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए।

त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो । चालु आर्थिक वर्षको फागुनसम्स अन्तिम श्रम स्वीकृत र पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ।


प्रतिक्रिया