`

नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको प्रचण्डको टिप्पणी

Nepal One HD २२ वैशाख २०८२ १४:०४
प्रमुख खबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् ।

उनले गतवर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको बताए ।

उनले भने, ‘मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाइ समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ । तर सरकारले त्यसलाई नै भत्काइदियो ।’

प्रचण्डले सांसदका सुझावहरु समेटेर यो परिमार्जन भई सोहीअनुरुप बजेटमा प्रतिविम्बित हुन सक्ने कुरामा सरकारले बेवास्ता गरेको बताए । उनले सरकार संख्याको दम्भ र निरंकुशतावादी चिन्तनमा रहेको आरोप लगाए ।

उनले भने, ‘सरकारसँग संख्याको दम्भ छ, जे गरेपनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ। त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो। फेरि एउटा औपचारिकतामा यसलाइ प्रस्तुत गरियो । म सच्च्याउन माग गर्दछु।’

उनले नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साहित नभएका बताए । उनले भने, ‘राष्ट्रपतिले आगामी वर्षका नीति तथा कार्यक्रम बाचन गरिरहँदा सत्तारुढ दलका सांसदको बेन्चमा छाएको मौनताले नै नीति तथा कार्यक्रमबारे धेरै कुरा प्रतिबिम्बित गरेको छ । सांसदहरुले किन टेबल नबजाएको भन्दै सम्माननीय प्रधानमन्त्रीले आफ्नै सांसदहरुसँग गरेको दुःखेसो र नीति तथा कार्यक्रमलाई सर्मथन गर्न पटक–पटक दिएको निर्देशनले नै प्रष्ट पारेको छ।’


प्रतिक्रिया