वार्ताका लागि अमेरिकाले थप आक्रमण नगर्ने ग्यारेन्टी गर्नुपर्ने इरानको माग


बीबीसी । इरानले यदि आफूसँग कूटनीतिक वार्ता पुनः गर्न चाहेको हो भने अमेरिकाले थप आक्रमण नगर्ने ग्यारेन्टी गर्नुपर्ने बताएको छ । उपविदेशमन्त्री मजिद तख्त–रवान्चीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत वार्तामा फर्कन चाहेको सन्देश दिइरहेको तर आफ्नो मागबारे प्रस्ट जवाफ नदिएको बताएका छन् ।
जुन १३ मा इजरायलले इरानमाथि हमला गरेपछि त्यसको दुई दिनपछि ओमानको राजधानी मस्कटमा हुने तय भएको अमेरिका र इरानबीचको छैटौँ चरणको मूलतः अप्रत्यक्ष वार्ता भाँडिएको थियो । अघिल्लो सप्ताहान्तमा अमेरिका उक्त युद्धमा प्रत्यक्ष सामेल भयो जब उसले इरानका तीनवटा परमाणु केन्द्रहरूमा शक्तिशाली बम हमला गर्यो ।
वार्ताका निम्ति थप आक्रमण नहुने ग्यारेन्टीका साथै इरानी मन्त्री तख्त–रवान्चीले शान्तिपूर्ण कार्यहरूका लागि आफ्नो देशलाई युरेनिअम इन्रिच गर्न दिइनु पर्ने पनि बताए ।
इरान गोप्य ढङ्गले परमाणु बम बनाउन क्रियाशील रहेका आरोपहरूलाई उनले अस्वीकार गरेका छन् । इरानलाई उसका अनुसन्धान कार्यहरूका निम्ति परमाणु सामग्रीमा पहुँच नदिइएकाले तिनको निम्ति आफैँमा भर पर्नु आवश्यक भएको उनले बताए ।
उनले भने, ‘कुन स्तरमा (इन्रिच) गर्ने भन्नेबारे, क्षमताका बारे कुराकानी हुन सक्छ। तर इरानले एक रति पनि इन्रिच गर्न नपाउने, नमानेको खण्डमा बम हान्छु भन्ने – यो त जङ्गलराज हो ।’
इजरायलले आक्रमणको प्रारम्भमै इरानका परमाणु तथा सैन्य केन्द्रहरू अनि इरानका कमान्डर तथा वैज्ञानिकहरूलाई निसानामा पारेको थियो ।
उक्त बमबारीबाट इरानको परमाणु कार्यक्रममा कति क्षति पुग्यो भन्ने स्पष्ट भइसकेको छैन। मन्त्री तख्त–रवान्चीले आफूले यकीन बताउन नसक्ने जवाफ दिए ।