राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न नउठाउन नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।
आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै उनले आफू सहभागी भएर पारित गरेको विधानका बारेमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताए ।
महासचिव पोखरेलले विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने धारणा राखे ।
‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो,’ उनले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’
उनले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताए । एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनको भनाइ छ ।
‘विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’, उनले भने, ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस ।’
महासचिव पोखरेलले जनसङ्गठनमा हालै भएका महाधिवेशनका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिनभित्र पठाउन निर्देशनसमेत दिए ।
पार्टी स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे । भेलालाई केन्द्रीय सदस्यद्वय विष्णु रिजाल, रचना खड्कालगायतले पार्टीको विधि र विधान विपरीत नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।