`

मन्त्रीको घुस डिल प्रकरण छानबिन गर्न सरकारसँग माओवादीको माग

Nepal One HD २९ असार २०८२ १४:४६
बिशेष

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मन्त्रीको घुसका डिल प्रकरण छानबिन गर्न सरकारसँग माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद दुर्गा राईले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घुस डिल गरेको अडियो बाहिरिएकोबारे छानबिन गर्न माग गरेकी हुन् ।

उनले घुस डिल प्रकरण सामान्य प्रशासन मन्त्रीको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विषय भएको बताइन् । उनले यस्ता घुसका डिल भएका अडियो सार्वजनिक भइरहँदा प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘मन्त्रीजीहरूका घुसका डिल बाहिरिएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन ? सम्माननीय प्रधानमन्त्रीज्यूले म घुस पनि लिँदिन अरूलाई घूस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ।’ उनले दुई मन्त्रीकोबारेमा प्रधानमन्त्रीले सदनमा जवाफ दिन रुलिङका लागि सभामुखसँग माग गरिन् ।

त्यसैगरी माओवादी केन्द्रकी अर्की सांसद रेखा शर्माले पनि कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ माग गरिन् ।

उनले भनिन्, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’

उनले यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *