भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ : सभामुख घिमिरे


झापा । सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्।
अर्जुनधारा नगरपालिकामा बुधबार अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्बाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताए।
सभामुख घिमिरेले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महंगो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गरे।
वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको बताए।
‘धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्, उनले भने, ‘कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ।’ घिमिरेले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको चर्चा गरे।
अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई जग्गाको धनीपूर्जा वितरण गरिएको छ । सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गरेका थिए।
सभामुख घिमिरेले भूमि विधेयक चाँडै पारित हुन्छ भने पनि सरकारको घटक कांग्रेसले विधेयक यथास्थितिमा पारित नगर्ने अडान लिएको छ। विधेयकमा रहेका कतिपय प्रावधानहरु सार्वजनिक जग्गा मास्ने हिसाबले आएकाले त्यसलाई रोक्नुपर्ने पक्षमा कांग्रेस छ।
अघिल्लो हप्ता विधेयक सदन सिधै पारित गर्ने कार्यसूची तय भए पनि कांग्रेसको असहमतिका कारण रोकिएको थियो।