बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने


काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहले नीति निर्माण अनुभव आदानप्रदान र लगानी प्रवर्द्धनबारे छलफल गरेको छ ।
आज सिंहदरबारमा बसेको सो समूहको बैठकले वेष्ट मिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी (डब्लुएफडी) र नेपाल बेलायत चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्दै नीति निर्माणमा अनुभव आदानप्रदान तथा दुई देशका विविध क्षेत्रमा लगानी प्रवर्द्धनका लागि संसदीय कुटनीति प्रयोग गर्ने निष्कर्ष निकालेको हो ।
समूहका संयोजक विराजभक्त श्रेष्ठकाअनुसार वेष्ट मिन्स्टर फाउन्डेसनसँग नेपाल र बेलायतको संसदीय अभ्यास, नीति निर्माणको प्रक्रियाबारे अनुभव आदानप्रदानमा सहकार्य गर्ने समझदारी बनेको छ ।
यसैगरी नेपाल बेलायत चेम्बर अफ कमर्ससँग दुई देशबीच सम्भावनाका क्षेत्र, लगानी प्रवर्द्वनबारे सहकार्य र मैत्री समूहले संसदीय कुटनीति प्रयोग गर्ने समझदारी बनेको संयोजक श्रेष्ठले बताए । दुवै संस्थासँग सहकार्यको खाका बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।
मैत्री समूहले नेपाल बेलायत सम्बन्धको संसदीय आयाम, विविध सम्बन्धबारे परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा वेष्ट मिन्स्टर फाउन्डेसनका निर्देशक दिनेश वाग्लेले नेपालमा हालसम्म गरेको काम, साझेदारीका ढाँचा तथा भविष्यका योजना बारे प्रस्तुत गरेका थिए।
नेपाल–बेलायत चेम्बर अफ कमर्सका प्रमुख राजेन्द्र खेतानले बैठकमा नेपालको लगानी सम्भाव्यता, बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र, दुवै देशबीचको आर्थिक साझेदारीमा रहेका अवसर र चुनौतीहरूबारे धारणा राखे । समूहले नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ बनाउने र संसदीय कूटनीति तथा आर्थिक सहकार्यलाई बलियो बनाउने जनाएको छ ।