मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ: मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् पुनर्गठन हुने तयारीमा रहेको बताउँदै राजीनामा नदिने बताएका छन् ।
बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।
घुस प्रकरणमा अडियो सार्वजनिक भएपछि स्पष्टीकरण दिने क्रममा उनलाई एक सञ्चारकर्मीले यस्तै अडियोको कारण मन्त्री पद गयो नि ? भनेर प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मन्त्री पदको के भने, सधैंको निम्ति पनि होइन । एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो । सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ । त्यो हुँदा को हुन्छन् को हुँदैनन्, छुट्टै कुरा हो । सबै हुन्छन् कि । त्यो एउटा पाटो हो ।’
साथै, उनले पदमा रहुन्जेल जिम्मेवार तरिकाबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएको थियो ।
यसअघि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।