भ्रष्टाचार छानबिन गर्न माग गर्दै दलबलसहित अख्तियार पुग्यो राप्रपा


काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
लिङ्देन नेतृत्वको टोलीले नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी,मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको अवस्थाले पुष्टि गरेको बताए।
‘नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ । आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दाबी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ ।’ राप्रपाले उल्लेख गरेको छ ।
भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरू प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको ज्ञापन पत्रमा उल्लेख छ।