बाढीका कारण रसुवागढीमा अवरुद्ध सेवा पुन: सञ्चालनमा ल्याउन युवा संघद्वारा प्रधानमन्त्रीलाई आग्रहपत्र


काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल, रसुवाले रसूवागढीमा बाढीका कारण अवरुद्ध भएको सेवा पुन: सञ्चालनमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रहपत्र बुझाएका छन् ।
असार २४ गते लेन्दी खोलामा आएको विनाशकारी बाढीले रसुवा जिल्लामा ठूलो क्षति पुर्याएको छ। यसै क्रममा राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले प्रधानमन्त्री ओलीसमक्ष तीन सूत्रीय आग्रहपत्र हस्तान्तरण गरेको हो ।
आग्रहपत्रमा केरुङ नाकामा अड्किएका नेपालीहरूलाई तत्काल नेपाल ल्याउने, रसुवागढीमा बेलिब्रिज (मितेरी पुल) निर्माणको व्यवस्था मिलाउने, र स्याफ्रुबेशी बजारमुनिको कटान तत्काल रोकथाम गर्नुपर्ने मागहरू उठाइएको छ।
उनीहरुले उठाएका मागहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केरुङमा रोकिएका नेपालीहरूलाई एक–दुई दिनभित्रै स्वदेश फर्काउने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय युवा संघले यस्तो विपद्को घडीमा जनताको हकहितका लागि आवाज उठाउनु आफ्नो कर्तव्य भएको बताउँदै आगामी दिनमा पनि पीडितको पक्षमा निरन्तर काम गरिरहने स्पष्ट पारेको छ।
बाढीका कारण स्याफ्रुबेशी बजारमुनि जमिन कटान भएको, केरुङ नाकामा सयौं नेपाली मजदुरहरू अलपत्र परेको, यातायात व्यवसाय, व्यापार, तथा भौतिक संरचनाहरू पूर्ण रूपमा प्रभावित भएका छन्। यसको असर केवल रसुवामा मात्र सीमित नरही, समग्र राष्ट्रको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ।