`

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

Nepal One HD १३ साउन २०८२ ११:३५
राजनीति

हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। मन्त्री खड्काले  मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन्।

कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामा विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने तयारी भइरहेका बेला उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर आफूले सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताए। यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए।

यसअघि साउन ९ गते नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले पनि राजीनामा दिएका थिए । यो सँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ । यसअघि शुक्रबार प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए।

५ जना मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ। लामालाई हटाएर बानियाँ संसदीय दलको नेता बन्ने योजनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *