`

बागमतीका मुख्यमन्त्री लामाको प्रतिक्रिया- ‘प्रपञ्च रचियो, राजीनामा दिन्नँ’

Nepal One HD १३ साउन २०८२ १७:०१
राजनीति

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन्।

आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा अल्पमतमा परेका सिंहले यस्ताे बताएका हुन् ।

काँग्रेसको संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो। उनको विपक्षमा २२ मत परेपछि संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका हुन्।

‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने छैन। सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो’, मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन। हटाउनुपर्ने पनि होइन। मुख्यमन्त्री हुन दलको नेता चाहिँदैन।’

उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए। सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जाल रचिएको उनको भनाइ छ।

‘मत विभाजन भयो। प्रक्रियामा गएको हो। प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो। नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ। मैले त्यस्तो हेरेको थिइनँ’, लामाले भने, ‘सबैलाई मिलाएर जाऔँ भन्दा विभिन्न किसिमका जाल रचिएको रहेछ। मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछन्। लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो। लोकतान्त्रिक विधिअनुसार प्रक्रिया सुरु हुन्छ।’

आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको उनले बताए। ‘मुख्यमन्त्री त फेर्नै सक्दैन। दलको नेता भएर हो। कोलेसन गभर्मेन्ट हो। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन’, उनले भने।

उनले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *