`

पानी नपरेपछि मधेशमा सांसदलाई बनाइयो हली

Nepal One HD १३ साउन २०८२ १७:०५
प्रमुख खबर

सर्लाही । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे ।

त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन् ।

त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन् । स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो । सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ । खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन, वडाध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए ।

महिलाहरूले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्‍याएका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए ।

मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावि बनेको छ । ‘गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,’ सांसद चौधरीले भने ।

कृषि विभागले यही ११ साउनसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको जनाएको छ । विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ

गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको हो । यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *