`

हात्ती प्रकोपको दुई दशक : कोशीमा ९७ जनाको मृत्यु

Nepal One HD १४ साउन २०८२ १२:४२
प्रमुख खबर

झापा । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ ।

निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनको भनाइ छ ।

सापकोटाका अनुसार प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापाका छन् । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले बताए । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

प्रमुख डा सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिए । ‘सरकारको ठूलो धनराशि वन्यजन्तु संरक्षण, मानवीय क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिलगायतमा खर्च भइरहेको छ’, उनले भने, ‘स्थानीयले पनि वन्यजन्तुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु जरुरी छ ।’ उनले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई सङ्घीय सरकारले १० लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइएको निर्देशनालयका प्रमुख डा सापकोटाले बताए । उनले प्रदेश सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा बाली बिमा कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरेको हो’, डा सापकोटाले भने, ‘कार्यक्रमको प्रभावकारिता र सम्भावना कस्तो रहन्छ त्यो हेरेर आगामी दिनमा सङ्घीय सरकारसँग यसको दिगोपना एवं कानुनी प्रावधानका सन्दर्भमा सहजीकरणका लागि अनुरोध गर्नेछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *