`

अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता

Nepal One HD १६ साउन २०८२ १६:१४
राजनीति

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ६ घण्टासम्म कृतिम श्वास दिई नवजात शिशुको ज्यान जोगाउने बैतडीको सिगासकी अनमी जानकी पुजारा साउदसँग फोन संवाद गरेका छन् ।

संवादका क्रममा मन्त्री भण्डारीले सिगास जस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा आफ्ना जिम्मेवारीहरू अत्यन्त निष्ठापूर्वक र प्रभावकारी रूपमा निर्वाह गरी राज्यको ध्यान आकर्षित गर्न सफल भएकोमा पुजाराको कामको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले पुजारालाई उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा परिचित हुन सफल भएकोमा बधाई दिँदै, आगामी दिनमा पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे ।उनले भने, “तपाईंलगायत अरू पनि स्वास्थ्यकर्मीहरूले काम गर्ने सिलसिलामा कुनै अप्ठ्यारो परेमा वा मेरो तर्फबाट गर्नुपर्ने कुनैपनि कामका लागि जुनसुकै बेला फोन गर्न सक्नुहुन्छ, म तत्कालै समस्या समाधानका लागि पहल गर्नेछु ।”

फोन संवादकै क्रममा स्वास्थ्यकर्मी पुजाराले आफ्नो कार्यक्षेत्रमा भौतिक पूर्वाधार र स्वास्थ्य सामग्रीको अभाव रहेको भन्दै पहल गरिदिन आग्रह गरे । जवाफमा मन्त्री भण्डारीले विगतमा सिगासमा तीनवटा स्वास्थ्य संस्था निर्माणका लागि पहल गरिएको स्मरण गराउँदै, आगामी दिनमा पनि आवश्यक भौतिक पूर्वाधार र स्वास्थ्य सामग्री उपलब्ध गराउन सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउन आवश्यक उपकरण र सुविधाहरूको सूची आफूलाई उपलब्ध गराउन पनि अनुरोध गरे ।

यसैबीच, मन्त्री भण्डारीले सिगास स्वास्थ्य चौकीमा खानेपानीको समस्या आएको गुनासोप्रति ध्यान दिँदै, सो समस्या समाधानका लागि कार्यान्वयनको चरणमा रहेको हल्काशैनी लिफ्ट खानेपानी योजनाको स्कीम थप गरी स्वास्थ्य चौकी, भुवन भाष्कर मावि र आसपासका बस्तीमा खानेपानी पु¥याउने गरी सम्बन्धित निकायलाई निर्देशन दिने जानकारी दिए ।

गत बिहीबार ६ घण्टा मुखबाटै अक्सिजन दिएर अनमी पुजारा सिगास–४की लक्ष्मी धामीले जन्मदिएको शिशुको ज्यान बचाउन सफल भएकी थिइन् । राति २० वर्षीया धामीले शिशुलाई जन्म दिएकी थिइन् । शिशुको श्वास निकै सुस्त चल्न थालेपछि स्थलमार्ग र हवाइमार्गबाट समेत उद्धारको अवस्था नभएको अवस्थामा अनमी पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाएकी हुन् । उनको कामको अहिले चैतर्फी प्रशंसा भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *