`

‘थालेका काम सक्ने’ सङ्कल्पसँगै देखिन थाले विकास निर्माणका प्रगति

Nepal One HD १६ साउन २०८२ १८:४२
प्रमुख खबर

काठमाडौँ, १६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष व्यतित हुँदा विकास निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाका कामले गति लिन थालेका छन् ।

‘थालेका काम सक्ने’ भन्ने प्रधानन्त्री ओलीको सङ्कल्प र त्यस सङ्कल्पलाई कार्यान्वयनका लागि मन्त्री र सचिवहरूलाई विभिन्न समयमा उहाँले दिनुभएको निर्देशनसँगै प्रगति देखिन थालेको हो ।

निर्माणाधीन आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माणाधीन विकास आयोजनाहरूको तीव्र अनुगमन गरी विकासको गति र कार्यसंस्कृतिमा सुधार ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयले नियमित अनुगमन र फलोअप गरिरहेको छ ।

अघिल्लो सरकारको कार्यकालमा रोकिएका, झमेला भएका, ढिलासुस्ती देखिएका, रुख कटान र न्यून बजेटलगायत समस्या व्यहोरेका आयोजनालाई प्रधानमन्त्री ओली आफैँले विशेष चासो दिएपछि प्रगति देखिन थालेका हुन् ।

वर्तमान सरकारले राष्ट्रिय राजमार्गका रूपमा रहेको मुग्लिङ–पोखरा सडक (पूर्वी खण्ड) सम्पन्न हुने अवस्थामा पुर्‍याइएको छ भने ठप्प प्रायः रहेको कमला–कञ्चनपुर सडकको निर्माण कार्यलाई सुचारु बनाइ सो खण्डमा ६६ प्रतिशत उपलब्धि हासिल गरेको छ । अघिल्लो सरकारका पालामा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको नारायगढ–बुटवल सडक खण्डमा प्रधानमन्त्री आफैँले अग्रसरता लिएपछि ७० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।

प्रवेशविन्दुमा रेखाङ्कनको विवादका बीच काठमाडौँ–तराई–मधेस द्रूूतमार्गमको प्रगति ३५ प्रतिशतबाट बढेर ४२ दशमलव १३ प्रतिशत पुगेको छ । यस्तै, काँकडभिट्टा–लौकही पूर्वी खण्डमा ६ प्रतिशतबाट २२ दशमलव १२ प्रतिशत, पश्चिम खण्डमा ४ दशमलव ७ प्रतिशतबाट २२ दशमलव १ प्रतिशत पुगेको छ । मुग्लिङ–पोखरा सडकको पूर्वीखण्ड ६० प्रतिशतबाट ८२ दशमलव ७४ प्रतिशत पुगेको छ भने पश्चिम खण्ड ४५ प्रतिशतबाट ५४ दशमलव १ प्रतिशतमा पुगेको प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।

यसैगरी, नागढुङ्गा सुरूङमार्गको प्रगति ६६ प्रतिशतबाट ९२ दशमलव ५ प्रतिशत, सिद्धबाबा सुरूङमार्ग सडकको प्रगति १६ प्रतिशतबाट ५८ दशमलव ३ प्रतिशतमा उक्लिएको उहाँले बताउनुुभयो । केही आयोजनाहरू जस्तै कमला–ढल्केवर–पथलौया सडक र बुटवल–गौरुसिङ्गे–चनौटा सडक २०८१/८२ मा मात्र सुरू गरिएका हुन्, जसमा प्रारम्भिक प्रगति क्रमशः १० दशमलव ९१ र १२ दशमलव २३ प्रतिशत छ । कालिगण्डकी करिडोरमा ६४ दशमलव ८ बाट ७९ दशमलव ८ प्रतिशत, बेनी–जोमसोम–कोरोला खण्डमा ७२ बाट ८५ प्रतिशत र तमोर करिडोरमा २५ बाट ५६ प्रतिशत प्रगति भएको छ ।

प्रधानमन्त्री ओलीकै सक्रियतामा तराई मधेस फास्ट ट्रयाकदेखि पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकहीखण्ड, मध्यपहाडी राजमार्ग सडक विस्तार र स्तरोन्नतिले गति लिएका छन् । प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार लामो समयसम्म अन्योलमा रहेको बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक निर्माणका लागि यस सरकारले विशेष अनुगमन गरी साइट क्लिएर गराई ठेक्का सम्झौताको चरणमा पुर्‍याइएको छ ।

हाल सो सडकमा रुख कटान, साइट क्लियरेन्सलगायत काम सकेर १२ प्रतिशत प्रगति भइसकेको अवस्था छ । यस सरकारले मुलुकमा पूर्व–पश्चिम राजमार्गभित्र आठ मुख्य खण्डमा छुट्याएर काम गरिरहेको छ भने नेपाल, भारत र चीनबीचको व्यापारिक तथा रणनीतिक मार्ग मानिएका उत्तर दक्षिण लोकमार्ग प्राथमकिता दिँदै हुम्लालाई राष्ट्रिय सडक पहुँचमा जोडेको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेससहितको अहिलेको सरकारले मुलुकभर एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणसहित राष्ट्रिय मार्गचित्रका आयोजना सुरूवात गरेको थियो । यो सरकारले सडक पूर्वाधारमा एसियन मापदण्डस्तरको राष्ट्रिय राजमार्ग निर्माण, लोकमार्ग निर्माण, सडक लेन विस्तार, सुरूङ मार्ग निर्माणलगायत पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गर्दै आइरहेको छ ।

विगतमा ओली सरकारकै पालामा नेपाल सुरूङ मार्गमा प्रवेश गरेको हो र नागढुङ्गा सुरूङ मार्गमा छिट्टै निर्वाध रूपमा सवारीसाधन गुड्ने तयारीमा सरकार लागेको छ । प्राविधिक हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरूङमार्गमा ५८ प्रतिशत काम भई नयाँ आयाम थपिएको छ । ओली सरकारले ग्वार्के फ्लाइओभर आयोजना सम्पन्न गरेको छ । यस प्रविधि र पहुँच अन्य सहरमा लागू गर्ने रणनीतिमा जुटेको छ ।

यस समयमा हुलाकी राजमार्गले करिब ७३ प्रतिशत समष्टिगत कार्यप्रगति हासिल गरेको छ । यसैगरी अहिलेको सरकारको पालामा कूल सडकको थप नौ सय ३२ किमी सडक कालोपत्र भएको छ । अघिल्लो सरकारको पालामा छ सय ५७ किमी सडक कालोपत्र भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *