`

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने

Nepal One HD १७ साउन २०८२ १२:११
अपराध

काठमाडौं। प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेशन जारी रहेको बताए ।

‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौंमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ’, अधिकारीले भने ।

उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

उनले बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *