बैठकमा मोबाइल निषेध: मन्त्री सचिवालयको सानो पहल प्रभावकारी बन्यो


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सचिवालयबाट गरिएको एउटा सानो प्रयासले सरकारी बैठकहरूमा अनुशासन र कार्यक्षमता सुधारिएको छ । मन्त्रीको कार्यकक्षमा हुने बैठकमा मोबाइल फोन प्रयोग निषेध गरिएको यो अभ्यास सचिवालयले सुरु गरेको हो, जसबारे मन्त्रीलाई सुरुमा जानकारी नै थिएन । उनलाई मिडियामार्फत मात्र थाहा भएको बताइएको छ ।
मोबाइल निषेधको उक्त सानो प्रयासले बैठकहरूको गुणस्तरमा भने ठूलो परिवर्तन ल्याएको छ । मन्त्रीको कार्यकक्षमा दैनिक करिब एक दर्जन बैठकहरू हुने गर्छन् । विगतमा बैठकका क्रममा ठुलो आवाजमा मोबाइलको घण्टी बज्ने, सामाजिक सञ्जालको प्रयोग र पटक–पटक ध्यान विचलन हुने गतिविधिहरूले छलफललाई प्रभावहीन बनाउने गरेका थिए ।
तर अहिले बैठकमा प्रवेशपूर्व मोबाइल फोन बाहिरै राख्नुपर्ने व्यवस्थाले सहभागीहरूको ध्यान बैठकको एजेन्डामा केन्द्रित हुन थालेको छ । शान्त, गम्भीर र मर्यादित वातावरण कायम हुन थालेको सचिवालयले जनाएको छ । निर्णय प्रक्रियामा गति आएको र बैठकहरू समयमै सुरु र सकिने प्रवृत्ति बढेको छ ।
मन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टका अनुसार मोबाइल निषेधपछि सहभागीहरू छलफलमा बढी सक्रिय हुन थालेका छन् । सुझाव दिनु, प्रश्न उठाउनु र आपसी समन्वयमा सहभागिता जनाउनु जस्ता सकारात्मक संकेतहरू देखा परेका छन् । उनले भने,“बैठकमा मोबाइलको प्रयोग नहुँदा बैठकहरु थप व्यवस्थीत र मर्यादित हुन थालेका छन्, यसको सिको अन्य सरकारी निकायहरुले पनि गर्नु जरुरी छ ।”
उद्योग मन्त्री भण्डारीको कार्यकक्षमा सुरु गरिएको यो अभ्यासले अन्य सरकारी कार्यालयहरूमा पनि अनुशासित र प्रभावकारी प्रशासनको उदाहरण बन्ने संकेत देखिएको छ ।सरल देखिए पनि यस्तो कार्यपद्धति सुशासनको मूख्य आधार बन्न सक्ने बताइन्छ ।