स्वकीय सचिवमार्फत मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका छन् । सोमबार बहादुरको तर्फबाट उनका स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका हुन् ।
लामाले आइतबार नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यसैगरी प्रदेश प्रमुख देवकोटा स्वास्थ्य लाभपछि आजै कार्यालयमा उपस्थित भएका थिए । उनी सोमबार सिमरा हुँदै हेटौँडास्थित कार्यालयमा पुगेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
मुख्यमन्त्रीको राजीनामा पत्र प्राप्तपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।