रविले दिए थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन


बुटवल । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् ।
साउन १९ गते उनले रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका हुन्।
उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन्। ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ।
दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ।
रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजेपनि गृह मन्त्रालयले रोकेको छ ।