`

विपिन जोशीकाे खाेजीमा आमा र बहिनी सोमबार इजरायल जाँदै

Nepal One HD २३ साउन २०८२ १३:१६
प्रमुख खबर

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीलाई इजरायलले आफ्नो मुलुक लैजाने तयारी गरेको छ ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लैजाने तयारी गरेको हो ।

उनीहरूको भिसालगायतका कागजातको काम सकिएको र छिट्टै झिकाइने विदेश मन्त्रालयका अधिकारीले बताएका छन् ।आमा पद्मा र बहिनी पुष्पालाई नेपालस्थित इजरायली दूतावासले आगामी सोमबार इजरायल लैजाने तयारी गरेको विपिनका दाइ (ठूलो बुवाका छोरा) किशोर जोशीले जानकारी दिए ।

राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारले योजना बनाएको छ । ‘विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने र अमेरिकी राष्ट्रपतिसँग पनि भेट गराउने योजना छ,’ विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीले भने ।

हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको कार्नीले बताए । ‘ती २० जनामध्ये को जीवित छन् र क–कसको मृत्यु भइसकेको छ, हामी प्रस्ट भन्न सक्ने अवस्थामा छैनौं,’ उनले भने ।

इजरायल स्पेसल फोर्सका क्याप्टेन नादभ बेन याहुदाले विपिनको रिहाइमा सक्दो प्रयास गरिरहेको बताए । ‘विपिनलाई लिएर म नै काठमाडौं आउनेछु, त्यसमा हामी सफल हुने विश्वास छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *