पशुपति आर्यघाटमा जलाउदै गरेको शवबाट मासु र हड्डी निकालेर बेचेको आरोप


काठमाडौं । पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएको छ । शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्।
मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाल र अर्का दाउरा उठाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका घाटे बाहुन यसमा मुख्य आरोपी छन्।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।
काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनासाथ प्रहरीले शुक्रबार नै उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो । तर, उनले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनाल बताउँछन् । तर, आफूले मासु नभएर हड्डी झिकेको ढकालले बताएका छन् ।
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेका छैनन् । जसकारण अहिल्यै आरोप पुष्टि हुने खालेका प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ ।