प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी जिनपिङ र मोदीसँग भेट हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ ।
सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने भएको छ ।
भदौ दोस्रो साता हुने सो शिखर सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ ।
यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।
प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला यसपटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।