`

पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीजलाई विकृत बनाएको छः उपाध्यक्ष भुसाल

Nepal One HD ८ भदौ २०८२ १९:५१
राजनीति

काठमाडौँ, ८ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई पुँजीपतिको व्यापारिक प्रवृत्तिले विकृत बनाएको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आज यहाँ आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष भुसालले नाफा कमाउन बजारमा लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन दिने र मौलिक संस्कृतिलाई मेट्ने कार्य बढिरहेको बताउनुभयो । यस्तो प्रवृत्तिलाई रोक्न जरुरी रहेको उहाँको भनाइ थियो ।

उपाध्यक्ष भुसालले समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने सोच कायम रहेको उल्लेख गर्दै तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा पनि बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले तीजलाई सांस्कृतिक, सामाजिक र मूल्यमान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले तीजलाई सामाजिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै मनाउनुपर्ने र विभाग आगामी दिनमा पनि महिला उत्थानका लागि सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *