रुसमा तैनाथ करिब दुई हजार सैनिक मारिए


युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।
सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले गत अप्रिलमा ‘युद्धमा मारिएका सैनिकहरूको सङ्ख्या कम्तीमा छ सय थियो’ भन्ने तथ्याङ्क प्रस्तुत गरेको थियो । तर ताजा मूल्याङ्कन अनुसार अब मृतकको सङ्ख्या करिब दुई हजार पुगेको अनुमान गरिएको सांसद ली सेओङ–क्वेनले जासुसी एजेन्सीबाट ब्रिफिङ पाएपछि पत्रकारहरूलाई बताए ।
दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायहरूले उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको जनाएका छन् । ती सैनिकहरू मुख्यतया कुस्र्क क्षेत्रमा तैनाथ गरिएका थिए । त्यहाँ उनीहरूले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली प्रयोग गरेका थिए ।
सांसद लीका अनुसार प्योङयाङले थप छ हजार सैनिक तथा इन्जिनियरहरू रुसमा पठाउने योजना बनाएको छ । तीमध्ये करिब एक हजार हालसालै आइपुगेको एनआइएसले विश्वास गरेको छ ।
“हालैको छ हजार सैनिकको तेस्रो तैनाथी योजनामध्ये करिब एक हजार लडाकू इन्जिनियरहरू रुसमा प्रवेश गरिसकेका छन् भन्ने अनुमान गरिएको छ”, सांसद लीले भने ।
यस वर्षको सुरुमा, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियाले कुस्र्क क्षेत्रमा निर्माणकर्ताहरू र विस्फोटक हटाउने प्राविधिकहरू पठाउने बताएका थिए ।
उत्तर कोरियाले अप्रिलमा मात्र युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना पठाएको स्वीकार गरेको थियो र आफ्ना केही सैनिकहरू लडाइँमा मारिएको पुष्टि गरेको थियो ।
त्यसबेलादेखि नेता किम जोङ उनले रुसतर्फ लडिरहेका सैनिकहरूको परिवारसँग भेट गर्दै उनीहरूको ‘असहनीय पीडा’ का लागि समवेदना व्यक्त गरेका थियो । राज्य सञ्चालित मिडियाले किमले फर्केका सिपाहीलाई अँगालेको र ती सैनिकहरू भावनामा अभिभूत हुँदै नेताको छातीमा टेकेर रोइरहेको तस्बिरसमेत प्रकाशित गरेको छ ।
त्यसैगरी, एक शहीद सैनिकको तस्बिर अगाडि घुँडा टेकेर श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको तस्बिरसँगै पदक र फूलहरू राखिएको दृश्य पनि सार्वजनिक गरिएको छ ।
रुस र उत्तर कोरियाले गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाली दुर्लभ भ्रमणका क्रममा आपसी रक्षा खण्डसहित सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए।