सन् २०२५ मा युरोपेली सङ्घको रक्षा खँर्च ३८१ अर्ब युरोमा पुग्ने


युरोपेली सङ्घ(इयु)को सैन्य खर्च सन् २०२५ मा तीन खर्ब ८१ अर्ब युरोको नयाँ रेकर्डमा पुग्ने अपेक्षा गरिएको छ । रुसलाई रोक्नका लागि सदस्य राष्ट्रहरूले थप बजेट छुट्याएको युरोपेली रक्षा एजेन्सी (इडिए) ले मङ्गलबार जनाएको छ ।
नाटोका युरोपेली सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा व्यापक रूपमा खर्च बढाउने प्रतिबद्धता जनाएपछि यस वर्ष खर्च १० प्रतिशतले बढेको हो ।
“युरोपले आफ्ना जनतालाई सुरक्षित राख्न रक्षामा अभूतपूर्व खर्च गरिरहेको छ र यो केवल सुरुआत मात्र हो”, इयुका विदेश नीति प्रमुख काजा कल्लासले भने ।
इडिएका अनुसार यस वर्षको कुल रकममध्ये करिब एक खर्ब ३० अर्ब युरो नयाँ हतियार लगायत लगानीमा खँर्च भइरहेको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली मुलुकहरूले रक्षा खर्चमा तीव्र वृद्धि गरेका हुन् ।
गत हप्ता युरोपेली आयोगले एक खर्ब ५० अर्ब युरोको इयु ऋण योजना पूर्ण रूपमा सदस्यता लिएको जनाएको थियो । जसले सदस्य राष्ट्रहरूलाई रक्षा खँर्च बढाउन सहयोग पुर्याउनेछ । सत्ताइस सदस्य राष्ट्रमध्ये १९ ले यस कोषमा आवेदन दिएका छन् ।
यस सुरक्षित योजनाले देशहरूलाई इयुको केन्द्रीय बजेटको ग्यारेन्टीमा सस्तो ऋण प्राप्त गर्न सहज बनाउँछ ।
पश्चिमी सेना र गुप्तचर निकायहरूले युक्रेनमा युद्ध समाप्त भएमा मस्को तीनदेखि पाँच वर्षभित्र कुनै नाटो मुलुकमाथि आक्रमण गर्न सक्षम हुनसक्छ भन्ने चेतावनी दिँदै आएका छन् ।
तर लामो समयदेखि युरोपको न्यून रक्षा खँर्चप्रति आलोचक रहेका राष्ट्रपति ट्रम्पको यस वर्ष पुनरागमनले युरोपलाई नयाँ चुनौती थपेको छ ।
अस्थिर भनिएका अमेरिकी नेताले गत जुलाईमा भएको शिखर सम्मेलनमा नाटो सहयोगीहरूलाई आफ्ना कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत सुरक्षा खर्चमा छुट्याउने प्रतिबद्धता गराउन बाध्य पारेका थिए ।
यो हेडलाइन लक्ष्यअन्तर्गत कोर रक्षा खँर्च तीन दशमलव पाँच प्रतिशत र पूर्वाधार तथा साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा एक दशमलव पाँच प्रतिशत छुट्याउने व्यवस्था गरिएको छ ।
“जिडिपीको तीन दशमलव पाँच प्रतिशतको नयाँ नाटो लक्ष्य पूरा गर्न अझ बढी प्रयास आवश्यक छ, जसका लागि एक वर्षमै कुल छ खर्ब ३० अर्ब युरोभन्दा बढी खँर्च हुने अनुमान गरिएको छ”, इडिए प्रमुख आन्द्रे डेन्कले भनेका छन् ।