चीन–रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ– पुटिन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबीचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएका छन् । यो भेटवार्ता चीनमा बुधबार हुने विशाल सैन्य परेडअघि सम्पन्न भएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनसहितका दर्जनौँ विश्व नेताहरू चीनको शक्ति प्रदर्शनमा सहभागी हुन राजधानी बेइजिङमा भेला भएका छन् ।
“हाम्रो घनिष्ठ संवादले रुसी–चिनियाँ सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट गर्छ, जुन अहिले अभूतपूर्व स्तरमा पुगेको छ”, पुटिनले पूल गरिएको लाइभ फिडमार्फत सीलाई भने ।
युद्धको समयमा दुवै मुलुकबीच भएको सहकार्यलाई स्वीकार गर्दै पुटिनले भने, “हामी सधैँ सँगै थियौँ र अहिले पनि सँगै छौँ ।”
सीले यस हप्ताको सुरुआतदेखि कूटनीतिक बैठकहरू आरम्भ गरेका छन्, जसमा उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को शिखर सम्मेलनसमेत पर्छ । चीनले यस मञ्चलाई पश्चिमी प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गर्ने गरेको छ ।
बुधबार हुने सैन्य परेड दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको स्मरणमा आयोजना गरिएको हो । यसमा करिब दुई दर्जन विश्व नेताहरू सहभागी हुनेछन् ।
– विश्वव्यापी अशान्ति –
सोमबार सम्पन्न शिखर सम्मेलनमा चीन र रुसका नेताहरूले पश्चिमी सरकारहरूको आलोचना गरेका थिए । सीले केही मुलुकहरूको ‘बदमाशीपूर्ण व्यवहार’ को निन्दा गर्दै अप्रत्यक्ष रूपमा अमेरिकालाई इङ्गित गर्नुभयो भने पुटिनले रुसको युक्रेन आक्रमणलाई औचित्यपूर्ण ठहर गर्दै द्वन्द्व सुरु गराएकोमा पश्चिमलाई दोष दिएका छन् ।
“चीन–रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षालाई सफलतापूर्वक सामना गरेको छ”, सीले मङ्गलबार पुटिनलाई भने ।
उनले ‘अझ न्यायपूर्ण र सन्तुलित विश्वव्यवस्था निर्माण गर्न’ मस्कोसँग सहकार्य गर्न बेइजिङ इच्छुक रहेको बताएका छन् ।
सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिनुभन्दा केही अघि नै चीन र रुसले ‘सीमाविहीन साझेदारी’ को घोषणा गरेका थिए । त्यसयता दुवै मुलुकबीच सैन्य तथा व्यापारिक सम्बन्ध अझ प्रगाढ बनेका छन्, जसले पश्चिमी मुलुकहरूलाई चिन्तित पारेको छ ।
चीनले रुसको युद्धलाई न त प्रत्यक्ष समर्थन गरेको छ, न त निन्दा नै गरेको छ । उसले आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र नियमित रूपमा युद्ध अन्त्यको आह्वान गर्ने गरेको छ । तर पश्चिमी देशहरूमाथि चीनले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व लामो बनाएको आरोप लगाउँदै आएको छ ।
सी र पुटिनबीच नियमित सम्पर्क हुने गरेको छ । उनीहरूले गत महिना फोनमा कुराकानी गरेका थिए, जहाँ चिनियाँ नेताले मस्को र वासिङ्टनबीच सम्बन्ध सुधार भएको देखेर खुशी व्यक्त गरेका थिए ।
यसअघि मे महिनामा सीले दोस्रो विश्वयुद्धमा नाजीहरूको पराजयको स्मरणमा रुसमा आयोजित मे ९ को उत्सवमा सहभागी हुन मस्को भ्रमण गरेका थिए ।
“चीन र रुसले राजनीतिक आपसी विश्वास र रणनीतिक सहकार्यलाई निरन्तर गहिरो बनाइरहेका छन् । यसले अन्तर्राष्ट्रिय उथलपुथलबीच बहुमूल्य स्थिरता र सकारात्मक ऊर्जा प्रदान गरेको छ”, सीले मे महिनाको भ्रमणका क्रममा भनेका थिए ।