रहिनन् चर्चित गायिका इन्दिरा गोले गुरुङ


काठमाडौं । चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । उनको गए राति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी क्यान्सर रोगबाट पीडित थिइन् । क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन् ।
२०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएपछि उनी केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्यस्त थिइन् । उनको आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङले जानकारी दिए ।
उनका अनुसार श्रृद्धाञ्जलीका लागि राष्ट्रिय नाचघरमा राख्ने तयारी गरिएको छ । उनको दुई छोरी छन् । चाँगुनारायण थान, घुम्तीनिर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् । उनले क्यान्सरकै कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।