`

सवारी दुर्घटनामा दुईको मृत्यु, एक बालिका घाइते

Nepal One HD १८ भदौ २०८२ १०:४४
प्रमुख खबर

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आज (बुधबार) दुई जनाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् ।पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले  पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो ।

माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङ गम्भीर घाइते भएकी हुन् ।  दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । हाल उनको उपचार भइरहेको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । निजलाई उपचारार्थ पोखरा पठाइएको छ। त्यस्तै बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *