विधान महाधिवेशनमा भण्डारीको सदस्यताबारे फरक मत राख्न मिल्दैन : शंकर पोखरेल


काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत राख्न नमिल्ने स्पष्ट पारेका छन् । विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारेको फरक मत राख्न नमिल्ने तर्क गरेका हुन् ।
आज (बुधबार) पार्टी कार्यालय च्यासलमा विधान महावेशनबारे आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो विषयमा पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टी केन्द्रीय कमिटी बैठकमा फरक मत राखेको भए पनि पार्टी कमिटीको निर्णयमाथिको सो फरक मत विधान महाधिवेशनमा छलफलको विषय गर्न विधानले नदिने जिकिर गरे ।
पार्टीका उपाध्यक्ष पाण्डेले सो विषयमा विधान महाधिवेशनमा फरक मत राख्ने घोषणा गरिसकेका छन् । तर महासचिव पोखरेलले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्रै फरक मत राख्न सकिने बताए । पार्टी निर्णयको असहमती पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न उचित हुने उनको भनाई थियो ।
‘केन्द्रीय कमिटीको निर्णयमाथि दुई जना उपाध्यक्ष कमरेडहरूको फरक मत छ । त्यो कुरा बाहिर पनि आएको छ’ महासचिव पोखरेलले भने, ‘अहिले निर्णयमाथिको असहमति भएको हुनाले विचार माथिको असहमति होइन भन्ने मैले बुझेको छु । केन्द्रिय कमिटीको निर्णयमाथिको असहमतिको विषय विधान अधिवेशनको विषय बन्छ कि बन्दैन भन्ने खालको कुरामा विधान अधिवेशनमा दस्तावेजमाथि मात्रै छलफल हुन्छ । केन्द्रिय कमिटीको निर्णयमाथि छलफल हुने अधिवेशन होइन ।’
विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने जानकारी दिएका हुन् । उनले भने, ‘कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषय उठाएर उहाँले पनि विधानमा फरक मत राख्नु भएको छ । त्यो विधानमाथि छलफल हुनसक्ला । त्यो विषय पनि भोलिको सचिवालय बैठकले नै निरूपण गर्ला । अरूले फरक मत राख्नु भएको छैन ।’ उनले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नखोसेको पनि बताएका छन् । उनले भने, ‘परित्याग गरेको विषयलाई पुनः कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्व राष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।’