सामाजिक सञ्जाल बन्दबारे गोकुलको टिप्पणी : सरकारले उत्तर कोरिया पो बनाउने भएछ


काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘नियमन प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’ सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्दैछ ।
यसैबीच नेपाल सरकारले २६ सामाजिक सञ्जाल आज (बिहीबार) देखि नै बन्द गर्ने प्रक्रिया अगाडि बढाएपछि सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सरकारको सम्पर्कमा आएको छ । मेटाले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एक कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् ।
उनले सरकारसँग सम्पर्क गरे लगत्तै दर्ता तथा सूचीकरणका लागि आवश्वयक विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको उनले जानकारी दिएका छन् । ठाकुरले सुनाए, ‘मेटाको सिंगापुरमा कार्यरत एक अन्सारी थरको कर्मचारीले मन्त्री ज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के–के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नु भएको रहेछ । मन्त्री ज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइ दिन भन्नु भएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ ।’