`

बुटवल र दाङमा पनि जेनजीको प्रदर्शन

बुटवल । सामाजिक सञ्जाल बन्दको विरोधमा बुटवलमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’ लगायतका नारा लगाएका छन् ।

यस्तै जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् । उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् । प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । आज जेनजीले केन्द्रीय राजधानी काठमाडौंसहित ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् ।

दुर्गा प्रसाईले भने–जेन जीको प्रदर्शनमा आउँदिन, आन्दोलन राम्रोसँग गर्नू

काठमाडौं । जेन जी पुस्ताले भोलि (सोमबार) थापाथलीस्थित माइतीघर मण्डलामा गर्न लागेको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाई सहभागी नहुने भएका छन् । जेन जीको आन्दोलनले दुर्गा प्रसाईलाई निषेध गरिने बताएपछि प्रसाईले आफू आन्दोलनमा सहभागी नहुने जनाएका हुन् । नेपाल सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि तीन बुँदे मागसहित जेन जी पुस्ताले भोलि माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्दैछन् ।

बिना शर्त सामाजिक सञ्जाल सक्रिय बनाउनुपर्ने, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्तिका आधारमा आयुक्त नियुक्त नगरिनु पर्ने जेन जेड पुस्ताको माग छ । यो आन्दोलनमा प्रसाईले पनि सहभागिता जनाउने घोषणा गरेका थिए । फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका थिए ।

प्रसाइँको स्ट्याटसपछि भोलिको आन्दोलनका सक्रिय जेन जेड सदस्यहरू तीनकुनेमा बैठक बसेर प्रसाई आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय गरेका थिए । यसपछि उनीहरू माइतीघरमा बैठक बस्न पुगेका थिए । उनीहरू बैठक बसिरहेकै बेला एक जेन जेड प्रतिनिधिलाई प्रसाईले फोन गरी आफू आन्दोलनमा नआउने जानकारी गराएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रसाईले फोन गरेर भने, ‘म भोलि आउँदिनँ भाइ हो । आन्दोलन राम्रोसँग गर्नू’, भनेको बताए । भोलि बिहान ९ बजेबाट जेन जेड पुस्ताले माइतीघरमा आन्दोलन गर्दैछ ।

प्रदर्शन शान्तिपूर्ण हुने, सबैलाई साथ दिन अपिल
जेन जीले भोलि गर्न लागेको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने जनाएको छ । प्रदर्शनको आयोजकहरुमध्येको एक आम नेपाली युवाले आइतबार एक सूचना जारी गर्दै काठमाडौँको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ प्रदर्शन हुने बताएको छ ।

भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको भन्दै सहभागिता जनाउन पनि आग्रह गरिएको छ । प्रदर्शनसम्बन्धी कार्यक्रमबारे विस्तृत जानकारी अर्को विज्ञप्तिबाट सार्वजनिक गरिने समेत बताइएको छ ।

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईंको साथ

काठमाडौं । ‘जेन जी’ नाममा भोलि (सोमबार) काठमाडौंमा हुन लागेको आन्दोलनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले साथ दिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गते जस्तो दमन नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँले समेत साथ दिने घोषणा गरेका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रसाईले प्रतिबन्धित फेसबुकमा लेखेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौंको घडी, लाखौँको जुत्ता–चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन् । विदेशसम्म–अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो । राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ । म यस कुरामा धेरै खुशी छु !’

‘सामाजिक सञ्जाल बन्द’ को विरोध गर्दा पक्राउ परेका पाँच जना छुटे
सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका पाँच जनालाई प्रहरीले छाडेको छ । शनिबार दिउँसो बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स, लगायत २५ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । सो निर्णयको विरोधमा काठमाडौंको बानेश्वरमा शनिबार युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्दा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले पाँच युवालाई नियन्त्रणमा लिएको थियो । ती पाँचै युवालाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘निषेधित क्षेत्रमा प्रदर्शन गर्दा नियन्त्रणा लिएका थियौं । अहिले छुटिसकेका छन्,’ उनले भने । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । अहिले नेपालमा दर्ता भएका भाइबर, टिकटक लगायत सामाजिक सञ्जाल मात्रै सञ्चालनमा छन् । स्थानीय धनबहादुर स्याङ्तानले किराना पसलअगाडि अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

सामाजिक सञ्जाल एकै पटक बन्द हुँदा आम नागरिकमा गम्भीर असर : क्यान महासंघ

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासंघले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण आउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ ।

नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासंघले जनाएको छ । ‘सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौं । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युबजस्ता महत्वपूर्ण प्लाटफर्महरू एकै पटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ’, महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भनेकी छन् ।

यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिएकी छन् । महासंघका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो संख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धरासायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासंघले जनाएको छ ।

अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनु पर्नेमा जोड दिएकी छन् । महासंघले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भीपीएन र ओपन डीएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राखे । महासंघले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनु पर्नेमा जोड दिएको छ ।

सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासंघले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तर्राष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धता समेत महासंघले जनाएको छ । सरकारले तोकिएको समयसीमाभित्र नेपालमा दर्ता हुन नमानेको भन्दै फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल नचल्ने गत बिहीबारदेखि नचल्ने बनाएको छ ।

२६ सामाजिक सञ्जालमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कार्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्योरा, टम्बलर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवि, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन् । यीमध्ये हाम्रो पात्रो दर्ता प्रक्रियामा आाइसकेको र एक्सले पनि सम्पर्क गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

 

बानेश्वरमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका युवाहरु पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रदर्शनमा उत्रिएका पाँच युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’ को नाममा प्रदर्शन उत्रिएका संस्थाका महामन्त्रीसहित पाँच जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् ।

उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शनमा उत्रिएका थिए । सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको सो संस्थाका सदस्यहरूले बताएका छन् ।

संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ । ‘शान्तिपूर्ण आन्दोलनलाई गैरलोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जाल निस्क्रिय हुँदा सरकारी निकायकै सेवा प्रभावित

काठमाडौं । सूचिकृत नभएका २६ सामाजिक सञ्जाल सरकारले निस्क्रिय बनाउँदा सरकारी निकायकै सेवा प्रवाहमा समस्या सिर्जना भएको छ। सामाजिक सञ्जाल निस्क्रिय भएपछि सरकारी कार्यालयकै कतिपय कामहरु प्रभावित भएको कर्मचारीहरु बताउँछन् ।

धेरैजसो सरकारी कार्यालयहरुले आम नागरिकसम्म जानकारी पुर्‍याउन र प्रतिक्रिया तथा गुनासो लिनका लागि आधिकारिक रूपमा फेसबुक, ह्वाट्सएप, ट्विीटर, यूट्यूव, म्यासेन्जरलगायतका सामाजिक सञ्जाल प्रयोग गर्दै आएका थिए ।

सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउँदा अहिले ती सेवाहरु प्रभावित भएका छन् । संघीय संसदसहित प्रदेश सभाका बैठकहरु यूट्यूवमार्फत प्रत्यक्ष प्रशारण –लाइभ) हुँदै आएका थिए । यूट्यूव बन्द भएकाले अब संसदका बैठकको प्रत्यक्ष प्रशारणमा समस्या हुने देखिएको छ ।

सभामुख देवराज घिमिरेले बिकल्प खोजिरहेको बताएका छन् । उनले एआइको प्रयोगबारे परामर्श भइरहेको बताएका छन् । तर लामो भिडियोको प्रत्यक्ष प्रशारणका लागि यूट्यूवको विकल्प भेट्न मुस्किल रहेको जानकार बताउँछन् ।

प्रधानमन्त्री कार्यालयबाटै सञ्चालित ‘हेलो सरकार’ ले फेसबुक, ट्विटर, ह्वाट्स्यापसहितका सामाजिक सञ्जालबाट नागरिकको गुनासो सुन्ने र उजुरी लिने गरिरहेको थियो । तर अहिले कार्यालयको फेसबुक र ट्विटर दुई दिनदेखि निस्क्रिय छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत स्वास्थ्यसम्बन्धी जानकारीहरु दिने गरेको थियो । मौसम पूर्वानुमानसम्बन्धी जानकारीहरु फेसबुकमार्फत प्रभावकारी रूपमा नागरिक समक्ष पुगिरहेका थिए । प्रहरी कार्यालयका जानकारी दिन पनि फेसबुक तथा ट्वीटर सक्रिय थिए ।

याताायत कार्यालयले चालक अनुमती पत्रको परिक्षा मितिदेखि नतिजा समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको थियो । यी सबै किसिमका कार्यालयका सेवाहरु अहिले प्रभावित भएका छन् । जसका कारण नागरिक सूचनाबाट समेत बञ्चित हुन पुगेका छन् ।

नेपालमा दर्ताको अवस्था र योजनाबारे जानकारी माग्दै मेटा र गुगललाई रास्वपाको पत्र

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय डिजिटल कम्पनीहरू मेटा (फेसबुक, इन्स्टाग्राम) र युट्युबलाई इमेलमार्फत पत्राचार गरेको छ । उक्त पत्रमा रास्वपाले ती प्लेटफर्म नेपालमा सूचीकरणको स्थितिबारे स्पष्टिकरणको लागि अनुरोध गरेको छ ।

खासगरी नेपालमा दर्ताको अवस्थाबारे जानकारी माग्दै रास्वपाका सहसचिव विपिन कुमार आचार्यले दुवैलाई इमेल पठाएका हुन् । मेटा पब्लिक पोलिसी टिमलाई सम्बोधन गरी पठाइएको इमेलमा पार्टीको तर्फबाट पठाएको उल्लेख छ ।

रास्वापाले नेपालमा युट्युब मनोरञ्जनको साधन मात्र नभएर शिक्षा, डिजिटल आविष्कार, उद्यमशिलता, पत्रकारिता तथा रचनात्मक अर्थव्यवस्थाको लागि निकै महत्वपूर्ण भएको उल्लेख गरेको छ ।सँगै राष्ट्रिय कानुन र नेपालको सार्वभौमसत्ताको सम्मान सर्वोपरी रहेको उल्लेख गरेको छ । यस सन्दर्भमा रास्वपाले मुख्य तीन बुँदा स्पष्ट पारिदिन आग्रह गरेको छ ।

१. सरकारी निर्देशन अनुरूप नेपालमा दर्ताको लागि युट्युब-गुगलले हालसम्म के कस्ता कदम चालेको छ ?
२. तत्काल अनुपालन गर्न कस्ता चुनौती वा अवरोधहरूले रोकिरहेका छन् ?
३. नेपाली प्रयोगकर्ताहरूको लागि युट्युव पहुँचयोग्य रहोस् भनेर दर्ताको लागि स्पष्ट समयरेखा वा रोडम्याप प्रदान गर्न सक्नु हुन्छ ?

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक फ्लेटफर्म प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अदालतका सूचना अधिकारी सहायक प्रवक्ता निराजन पाण्डेले रिटमाथि अध्ययन भइरहेको जानकारी दिएका छन् । उनले भने, ‘सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध रिट आएको छ ।’ सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायत २६ वटा एप नेपालमा नचल्ने बनाउन निर्देशन दिइसकेको छ । इन्टरनेट प्रदायक कम्पनीहरूले सरकारको निर्देशनपछि आंशिक रूपमा मात्रै चल्ने बनाएका छन् ।

त्रिपाठीले नागरिकको आवाज बन्द गर्न सरकारले यस्तो निर्णय गरेकाले यसलाई खारेज गरेर पूर्ववत् अवस्थामा सञ्चालनका लागि आदेश माग गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाइएको छ ।

२०८२ भदौ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालहरू सूचीकरण हुनु पर्ने निर्णय गर्दै भदौ ९ गते सात दिनको समय दिएको थियो । यो अवधिमा पनि सूचीकरण नभएका सामाजिक सञ्जालहरू सरकारले बिहीबार रातिबाटै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । फेसबुकसहित ती २६ वटा सामाजिक सञ्जाल बन्दको प्रक्रियामा छन् ।

नेपाल सरकारको यो निर्णय प्रथम दृष्टिमै गैरकानुनी र गैर संवैधानिक रहेको निवेदकको दाबी छ । संविधानको धारा १७ (२) (क) अनुसार प्रत्येक नेपाली नागरिकहरूलाई बिचार एवम् अभिव्यक्तिको स्वतन्त्रताको अधिकार रहेको, धारा १९ अनुसार संचारको हक एवम् २७ ले सूचनाको हक प्रत्याभूत गरेको छ । संविधानले परिकल्पना गरेको यस स्वतन्त्रतामाथी प्रतिबन्ध लाग्न नसक्ने पनि निवेदकको जिकिर छ । सरकारले ऐन बनाएर नियमन गर्न सक्ने भए पनि अवरुद्ध गर्न नमिल्ने त्रिपाठीको निवेदनमा उल्लेख छ ।

तर सरकारले निर्देशिकाको भरमा नियमन नगरी सिधै बन्द गरेको र यो संविधानको उल्लंघन भएको त्रिपाठीले बताएका छन् । नागरिकको अभिव्यक्तिको माध्यमलाई प्रतिबन्ध गर्न नमिल्ने र लोकतान्त्रिक राज्यमा यसरी प्रतिबन्ध लगाउनु चरम स्वेच्छाचारिता भएको उल्लेख छ ।

धमाधम बन्द हुने थाले सामाजिक सञ्जाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।

नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्म हालका लागि बन्द गरिएको जनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले फेसबुक बन्द गरेको हो ।

अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकबाट बन्द हुनका लागि भने केही समय लाग्ने बताए । ‘सरकारबाट आएको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढिसक्यो । विस्तार बन्द हुँदै जान्छन्,’ उनले भने ।

प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ ।

एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।

सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुने

काठमाडौं। नेपाल दूरसञ्‍चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्‍ने बताएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न भोलिसम्मको समय लाग्‍ने बताए ।

, ‘प्राधिकरणको परिपत्र आइएसपानको आधिकारिक इमेलमा आइसकेको भएपनि सामाजिक सञ्जाललाई बन्द गर्न टेक्निकल कमिटी बनाएर बन्द गर्न भोलि साँझसम्म समय लाग्ने बताईएको छ ।

अध्यक्ष पराजुलीले सरकारलाई आफूहरूले सामाजिक सञ्जाललाई पूर्णरुपमा बन्द नभई नियमन गर्नेगरी सुझाव दिएको बताए ।

यसअघि नेपाल दूरसञ्‍चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको निर्णय,आज (बिहीबार) बसेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्‍दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।

साथै सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको हो ।

 

 

सामाजिक सञ्जाल बन्दबारे गोकुलको टिप्पणी : सरकारले उत्तर कोरिया पो बनाउने भएछ

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नियमन प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’ सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्दैछ ।

यसैबीच नेपाल सरकारले २६ सामाजिक सञ्जाल आज (बिहीबार) देखि नै बन्द गर्ने प्रक्रिया अगाडि बढाएपछि सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सरकारको सम्पर्कमा आएको छ । मेटाले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एक कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् ।

उनले सरकारसँग सम्पर्क गरे लगत्तै दर्ता तथा सूचीकरणका लागि आवश्वयक विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको उनले जानकारी दिएका छन् । ठाकुरले सुनाए, ‘मेटाको सिंगापुरमा कार्यरत एक अन्सारी थरको कर्मचारीले मन्त्री ज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के–के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नु भएको रहेछ । मन्त्री ज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइ दिन भन्नु भएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ ।’

सामाजिक सञ्जाल सम्बन्धि सरकारको निर्णय गलत छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्णय गलत भएको बताएका छन् । सरकारको निर्णयलाई उनले सरकार उल्टो बाटो हिँडेकाले पुनर्विचार गर्न आग्रह गरेका छन् ।

विहीबार उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउनुपर्ने औंल्याएका छन् । थापाले सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेकाले छिटो काम गरेर उपयुक्त कानुन निर्माण गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन आग्रह गरेका छन् ।

सामाजिक संजालमा उनले लेखेका छनः

सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ।

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।

आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ।

सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।त्यसैले सरकार सँग पुनः आग्रह छ–यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस।

फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो । उक्त गए राति १२ बजे नै सकिएको छ । मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो । सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको स्रोतको भनाइ छ ।

सरकारले यही भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको म्याद दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि समय दिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो । अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत छन् । सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल, ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रशारण हुने सामग्रीमाथि बन्देज गर्न र नियमनका लागि आवश्यक कानुन बनाउन सरकारको नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारका नाममा बुधबार परमादेश जारी गरेको थियो । सर्वोच्चले विदेशी प्रसारण संस्थाले नेपालमा प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने र सरकारलाई आवश्यक कानुन निर्माण गर्न परमादेश दिएको हो ।

प्रसारण नियमावलीमा कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रशारण गरेको कुनै डिजिटल कार्यक्रमलाई नेपालमा डाउनलिंक गरी प्रशारण गराउन चाहने व्यक्ति वा संगठित संस्थाले अनुमति लिनुपर्ने व्यवस्था छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै बेला सर्वोच्चले परमादेश जारी गरेको हो । रिट निवेदनमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरणलायतलाई विपक्षी बनाइएको थियो ।

सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयमाथि रास्वपाको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले हतारमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी जनहित विपरीत रहेको बताए ।

उनले सर्वोच्च अदालतको परमादेशअनुसार सामाजिक सञ्जालहरूलाई दर्ता गर्नको लागि आवश्यक कूटनीतिक वार्ता गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ । यी प्लेटफर्महरू दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । सरकारको कर्तव्य भनेको त्यही आदेशलाई अक्षरशः कार्यान्वयन गर्नु हो । त्यसका लागि कूटनीतिक वार्ता र दीर्घकालीन रणनीति अपनाउनु हो । धम्की दिने वा हतारमा बन्द गर्ने होइन । तर सरकार संयम अपनाउनुको साटो एक दुई हप्ता भनेर धम्की दिने काम गरिरहेको छ । यो जनहित विपरीत छ ।’

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको र लाखौंको रोजगारी र व्यवसाय सामाजिक सञ्जालसँग समेत जोडिएको स्मरण गर्दै उनले यसलाई ख्याल नगरी सरकारले फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेको भनेर खबरदारी गरे ।

सामाजिक सञ्जालबारे निर्णय लिन सञ्चार मन्त्रालयमा बैठक जारी

काठमाडौं । दर्ता हुन नआएका सामाजिक सञ्जालका विषयमा निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा वैठक बसिरहेको छ । फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको सात दिनको म्याद बुधबार मध्यरातबाट सकिएको छ । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्कासँगै नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठकमा सहभागी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बैठकमा सामाजिक सञ्जाल निष्क्रियका लागि के कसरी र कुन प्रक्रियामा अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

भाइबर, टिकटक, विटक, निम्बज जस्ता पाँच वटा सामाजिक सञ्जाल नेपालमा यसअघि नै सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको मन्त्रालयका अधिकारीले बताएका छन् । ती सामाजिक सञ्जालका कम्पनीलाई मन्त्रालयले यसअघि नै इमेलमार्फत पत्राचार गरेर सूचीकरणमा आउन पत्राचार गरिसकेको थियो । सञ्चार मन्त्रालयले एक हप्ताको समयसीमा दिएर १२ भदौमा सूचना जारी गर्दै नेपालमा चल्ने सबै सामाजिक सञ्चाल अनिवार्य दर्ता हुनुपर्ने र नेपालमा आवासीय प्रतिनिधि राख्नुपर्ने भनेको थियो ।

तर, सात दिन बितिसक्दा पनि सूचनामा भनिएका कुनै पनि सामाजिक सञ्चाल दर्ताका लागि सम्पर्कमा आएका छैनन् । हालसम्म टिकटकलगायतक पाँच वटा सञ्जाल दर्ता भए पनि नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने फेसबुक नै दर्ता भएको छैन । यदि सूचीकरण हुन नआए सञ्चालन हुन नदिने चेतावनी सरकारले यस पटक पनि दोहो¥याएको छ । के साँच्चै अब नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द नै हुन्छन् त ? अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा यस्तो जिज्ञासा मनमा उठेको छ ।

नेपालमा आजसम्म दर्ता हुन नआउने सामाजिक सञ्जाल अब के हुन्छ ?

काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन बाँकी सामाजिक सञ्जाललाई दर्ता हुनका लागि दिएको समय सीमा आज (बुधबार) सकिंदैछ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचीकरण हुन आउने समय सीमा आज सकिने हुँदा आजसम्म कोही पनि अधिकारीहरू सम्पर्कमा नआएको बुझिएको जानकारी दिए ।

‘अहिलेसम्म कोही आयो कि मैले थप बुझ्नु पर्छ । नआए त उही सूचनामा लेखे बमोजिम हुने हो ।’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुकलगायतका सामाजिक सञ्चाल बन्द गर्ने सूचना बमोजिम नै अघि बढ्ने बताएका छन् । ९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पटक ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालको कानुनअनुसार दर्ता हुन आग्रह गर्ने निर्णय गरेको थियो ।

साेही निर्णयबमोजिम सञ्चार मन्त्रालयले एक हप्ताको समयसीमा दिएर १२ भदौमा सूचना जारी गर्दै नेपालमा चल्ने सबै सामाजिक सञ्चाल अनिवार्य दर्ता हुनुपर्ने र नेपालमा आवासीय प्रतिनिधि राख्नुपर्ने भनेको थियो । तर, ६ दिन बितिसक्दा पनि सूचनामा भनिएका कुनै पनि सामाजिक सञ्चाल दर्ताका लागि सम्पर्कमा आएका छैनन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरमा अनुसार सबै सामाजिक सञ्चालको रोस्टर बनाइ सकिएको हुँदा अब नियामक निकाय दुरुसञ्चार प्राधिकरणलाई बन्द गर्न मन्त्रालयले पत्र लेख्नेछ । उनका अनुसार फेसबुक, एक्स (पूर्वट्विटर), अल्फाबेट, रेडिट, लिङ्क्डइन, स्न्यापच्याटलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता भएका छैनन् । यसअघिको सूचना मानेर टिकटक, भाइबरलगायतका सामाजिक सञ्चाल दर्ता भइसकेका छन् भने नेपालमा प्रतिनिधि समेत राखेका छन् ।

यस पटक मन्त्रिपरिषद्बाटै निर्णय गर्दै नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई अन्तिम पटक भन्दै सूचना दिएको छ । हालसम्म टिकटकलगायतक पाँच वटा सञ्जाल दर्ता भए पनि नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने फेसबुक नै दर्ता भएको छैन ।

यदि सूचीकरण हुन नआए सञ्चालन हुन नदिने चेतावनी सरकारले यस पटक पनि दोहोर्‍याएको छ । के साँच्चै अब नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द नै हुन्छन् त ? अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा यस्तो जिज्ञासा मनमा उठेको छ ।

के सरकारले भने जस्तै सात दिनभित्र अर्थात् आज (बुधबार) सम्म सूचीकरण हुन नआउने फेसबुक, इन्स्टाग्राम, एक्स, गुगल, ह्वाटस्एप जस्ता सामाजिक सञ्जाल नेपालमा नचल्ने नै हुन् त ? अहिलेसम्म भाइबर, टिकटक, विटक, पोपो लाइभ र निम्बर गरी पाँच वटा मात्र नेपालमा सरकारले तोकेको प्रक्रियाअनुसार दर्ता छन् । टेलिग्राम र ग्लाबर डायरी सूचीकरणको प्रक्रियामा छन् । बाँकी कुनै दर्ता छैनन् । सरकारले बन्द गर्ने चेतावनी दिँदा पनि उनीहरूले बेवास्ता गरेका छन् । अब पनि दर्ता हुन आएनन् भने के हुन्छ ? सरकार भन्छ–अटेरी गर्नेहरूलाई नेपालमा सञ्चालन हुनबाट क्रमशः निस्कृय बनाइने छ ।