नेपालमा आजसम्म दर्ता हुन नआउने सामाजिक सञ्जाल अब के हुन्छ ?


काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन बाँकी सामाजिक सञ्जाललाई दर्ता हुनका लागि दिएको समय सीमा आज (बुधबार) सकिंदैछ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचीकरण हुन आउने समय सीमा आज सकिने हुँदा आजसम्म कोही पनि अधिकारीहरू सम्पर्कमा नआएको बुझिएको जानकारी दिए ।
‘अहिलेसम्म कोही आयो कि मैले थप बुझ्नु पर्छ । नआए त उही सूचनामा लेखे बमोजिम हुने हो ।’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुकलगायतका सामाजिक सञ्चाल बन्द गर्ने सूचना बमोजिम नै अघि बढ्ने बताएका छन् । ९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पटक ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालको कानुनअनुसार दर्ता हुन आग्रह गर्ने निर्णय गरेको थियो ।
साेही निर्णयबमोजिम सञ्चार मन्त्रालयले एक हप्ताको समयसीमा दिएर १२ भदौमा सूचना जारी गर्दै नेपालमा चल्ने सबै सामाजिक सञ्चाल अनिवार्य दर्ता हुनुपर्ने र नेपालमा आवासीय प्रतिनिधि राख्नुपर्ने भनेको थियो । तर, ६ दिन बितिसक्दा पनि सूचनामा भनिएका कुनै पनि सामाजिक सञ्चाल दर्ताका लागि सम्पर्कमा आएका छैनन् ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरमा अनुसार सबै सामाजिक सञ्चालको रोस्टर बनाइ सकिएको हुँदा अब नियामक निकाय दुरुसञ्चार प्राधिकरणलाई बन्द गर्न मन्त्रालयले पत्र लेख्नेछ । उनका अनुसार फेसबुक, एक्स (पूर्वट्विटर), अल्फाबेट, रेडिट, लिङ्क्डइन, स्न्यापच्याटलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता भएका छैनन् । यसअघिको सूचना मानेर टिकटक, भाइबरलगायतका सामाजिक सञ्चाल दर्ता भइसकेका छन् भने नेपालमा प्रतिनिधि समेत राखेका छन् ।
यस पटक मन्त्रिपरिषद्बाटै निर्णय गर्दै नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई अन्तिम पटक भन्दै सूचना दिएको छ । हालसम्म टिकटकलगायतक पाँच वटा सञ्जाल दर्ता भए पनि नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने फेसबुक नै दर्ता भएको छैन ।
यदि सूचीकरण हुन नआए सञ्चालन हुन नदिने चेतावनी सरकारले यस पटक पनि दोहोर्याएको छ । के साँच्चै अब नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द नै हुन्छन् त ? अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा यस्तो जिज्ञासा मनमा उठेको छ ।
के सरकारले भने जस्तै सात दिनभित्र अर्थात् आज (बुधबार) सम्म सूचीकरण हुन नआउने फेसबुक, इन्स्टाग्राम, एक्स, गुगल, ह्वाटस्एप जस्ता सामाजिक सञ्जाल नेपालमा नचल्ने नै हुन् त ? अहिलेसम्म भाइबर, टिकटक, विटक, पोपो लाइभ र निम्बर गरी पाँच वटा मात्र नेपालमा सरकारले तोकेको प्रक्रियाअनुसार दर्ता छन् । टेलिग्राम र ग्लाबर डायरी सूचीकरणको प्रक्रियामा छन् । बाँकी कुनै दर्ता छैनन् । सरकारले बन्द गर्ने चेतावनी दिँदा पनि उनीहरूले बेवास्ता गरेका छन् । अब पनि दर्ता हुन आएनन् भने के हुन्छ ? सरकार भन्छ–अटेरी गर्नेहरूलाई नेपालमा सञ्चालन हुनबाट क्रमशः निस्कृय बनाइने छ ।