`

दुर्गा प्रसाईले भने–जेन जीको प्रदर्शनमा आउँदिन, आन्दोलन राम्रोसँग गर्नू

Nepal One HD २२ भदौ २०८२ १८:२०
राजनीति

काठमाडौं । जेन जी पुस्ताले भोलि (सोमबार) थापाथलीस्थित माइतीघर मण्डलामा गर्न लागेको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाई सहभागी नहुने भएका छन् । जेन जीको आन्दोलनले दुर्गा प्रसाईलाई निषेध गरिने बताएपछि प्रसाईले आफू आन्दोलनमा सहभागी नहुने जनाएका हुन् । नेपाल सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि तीन बुँदे मागसहित जेन जी पुस्ताले भोलि माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्दैछन् ।

बिना शर्त सामाजिक सञ्जाल सक्रिय बनाउनुपर्ने, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्तिका आधारमा आयुक्त नियुक्त नगरिनु पर्ने जेन जेड पुस्ताको माग छ । यो आन्दोलनमा प्रसाईले पनि सहभागिता जनाउने घोषणा गरेका थिए । फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका थिए ।

प्रसाइँको स्ट्याटसपछि भोलिको आन्दोलनका सक्रिय जेन जेड सदस्यहरू तीनकुनेमा बैठक बसेर प्रसाई आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय गरेका थिए । यसपछि उनीहरू माइतीघरमा बैठक बस्न पुगेका थिए । उनीहरू बैठक बसिरहेकै बेला एक जेन जेड प्रतिनिधिलाई प्रसाईले फोन गरी आफू आन्दोलनमा नआउने जानकारी गराएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रसाईले फोन गरेर भने, ‘म भोलि आउँदिनँ भाइ हो । आन्दोलन राम्रोसँग गर्नू’, भनेको बताए । भोलि बिहान ९ बजेबाट जेन जेड पुस्ताले माइतीघरमा आन्दोलन गर्दैछ ।

प्रदर्शन शान्तिपूर्ण हुने, सबैलाई साथ दिन अपिल
जेन जीले भोलि गर्न लागेको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने जनाएको छ । प्रदर्शनको आयोजकहरुमध्येको एक आम नेपाली युवाले आइतबार एक सूचना जारी गर्दै काठमाडौँको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ प्रदर्शन हुने बताएको छ ।

भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको भन्दै सहभागिता जनाउन पनि आग्रह गरिएको छ । प्रदर्शनसम्बन्धी कार्यक्रमबारे विस्तृत जानकारी अर्को विज्ञप्तिबाट सार्वजनिक गरिने समेत बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *