बानेश्वरमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका युवाहरु पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रदर्शनमा उत्रिएका पाँच युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’ को नाममा प्रदर्शन उत्रिएका संस्थाका महामन्त्रीसहित पाँच जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् ।
उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शनमा उत्रिएका थिए । सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको सो संस्थाका सदस्यहरूले बताएका छन् ।
संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ । ‘शान्तिपूर्ण आन्दोलनलाई गैरलोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
