ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्करले दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातीमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा आड लागेर कोल्टे परेको छ । घरका मानिसहरु सुरक्षित छन् । तर घरको गारोले थिचिएर २० वटा कुखुरा मरेका छन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट