कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान


जापान । एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन् । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।
“म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भने, “शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।”
अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए । टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर(१२ हजार तीन सय ८८ फिट) उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नु अघि ट्रेलमा दुई रात शिविरमा बिताएका थिए ।
पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्याउँदै सहयोग पुर्याएकी छिन् । अकुजावालाई सुन्न कठिन छ । “उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन”, अकुजावाले भनीन्, “जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।”
यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उनी ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । त्यसपछि उनले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिएका थिए ।
फुजी आरोहण अघि उनले तीन महिनासम्म विशेष तालिम लिएका थिए । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्ने गर्थे र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्थे ।
अकुजावाको पर्वतप्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उनले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिएका छन् । शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उनलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।
“म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ”, उनले भने, “पर्वतमा साथी बनाउन सजिलो हुन्छ ।”
अकुजावा सक्षम विद्यार्थी थिए । उनले इन्जिन डिजाइन इन्जिनियरको रूपमा काम गरे र पछि ८५ वर्षसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहे ।
“पढाइ मन परे पनि नपरे पनि, पर्वतको आनन्द लिने तरिका उस्तै हो”, उनले भने, “बुद्धिले त्यहाँ कुनै अर्थ राख्दैन । हामी सबै एउटै आधारमा हुन्छौँ र सँगै अगाडि बढ्छौँ ।”
पहिले उनी एक्लै आरोहण गर्न रुचाँउथे, तर उमेर बढेसँगै अरूको सहयोगमा बढी निर्भर हुन थाले । हालैको कीर्तिमानी आरोहण पनि त्यही सहयोगकै कारण सम्भव भयो ।
“माउन्ट फुजी कठिन पर्वत होइन, तर यसपटक अघिल्ला सबै आरोहणभन्दा धेरै चुनौतीपूर्ण लाग्यो”, उनले भने, “मलाई पीडा थिएन, तर किन ढिलो हुँदैछु, किन सहनशक्ति छैन भन्ने सोचिरहेँ । धेरैअघि नै शारीरिक सीमा पार गरेको छु । अरूको शक्ति र सहयोगकै कारण मात्र सफल भएँ ।”
–अन्तिम आरोहणको सङ्केत –
फेरि माउन्ट फुजी आरोहण गर्ने योजनाबारे प्रश्न गर्दा उनले भने, “म सदाका लागि चढिरहन चाहन्छु, तर अब सम्भव नहोला । अहिले म नजिकैको अकागी पर्वत (एक हजार आठ सय २८ मिटर) को स्तरमै छु ।”
यी दिनहरूमा अकुजावा बिहानै वरिष्ठ हेरचाह केन्द्रमा स्वयंसेवा गर्छन् र आफ्नो स्टुडियोमा चित्रकला सिकाउछन् । उनका अनुसार पर्वतारोहण र चित्रकलामा समान समर्पण र समय चाहिन्छ, दुवैले शान्ति दिन्छन् ।
“पर्वत चढ्ने वा चित्र बनाउने जो–कोहीले त्यसबाट केही सम्पूर्ण सिर्जना गर्न सके, त्यो नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो”, उनले भने ।
उनका छोरीहरूले बैठक कोठाको पर्खाल भरिएका पर्वतचित्रमा सूर्योदयमा फुजी पर्वतको अर्को चित्र थप्न आग्रह गरेका छन् ।
“धेरै अनुरोधहरू आइसकेका छन्”, उनले हाँस्दै भने, “म शिखरबाट देखिएका ती दृश्यहरू चित्रित गर्न चाहन्छु, जसले मेरा लागि विशेष सम्झना बोकेका छन् । सम्भवतः यो मेरो अन्तिम शिखरारोहण थियो ।”