बानेश्वरको निषेधित क्षेत्र छेउमा जेन–जीको नारा : हाम्रो क्रोध, तिम्रो अन्त्य


काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन–जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै बानेश्वरतर्फ लागेका हुन् । अहिले उनीहरु प्रदर्शन गरिरहेका छन् ।
विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन् । प्लेकार्डमा उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अअति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन् । उनीहरूले ‘हामीले तिरेको कर कहाँ छ ?’ भनी प्रश्न गरेका छन् । लोभी नेताहरूलाई थप नपोसौँ भन्दै आह्वान गरेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो भन्दै राजनीतिक प्रणाली फेर्न माग गरेका छन् ।
माइतीघर–बानेश्वर सडक पूर्णरुपमा अवरुद्ध
काठमाडौंको माइतीघरमा भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा भइरहेको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । माइतीघरबाट थापाथली, पुतलीसडक र बानेश्वरतर्फ जाने तीन वटै सडक जेन–जीले ढाकेका छन् ।
ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले हजारौंको संख्यामा युवाहरु भेला भएको बताएका छन् । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ उनले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्ने छैनौं ।’