जेनजी आन्दोलन : पत्रकार श्रेष्ठलाई लाग्यो गोलीे, प्रदर्शनकारी पनि घाइते


काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा जेनजीले गरेको आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो । यस्तै प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यू आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।
माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।