शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्दै


काठमाडौं । जेनजी प्रदर्शन चर्किपछि शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा लैजान थालेका छन् । शीर्ष नेताको सुरक्षामा चार वटै सुरक्षा निकाय परिचालित भएको स्रोतले जानकारी दिएको छ । बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् ।
अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको एक उच्च अधिकृतले जानकारी दिए । ‘पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत तनावको स्थिति सिर्जना भएको छ,’ ती अधिकृतले भने, ‘यस्तोमा उहाँहरुको सुरक्षा गर्नु हाम्रो दायित्व पनि हो ।’
भैंसेपाटीस्थित मन्त्रीक्वार्टरमा समेत पटक–पटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले जनाएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् । त्यसअघि नै परिस्थिति नियन्त्रण बाहिर पुगिसकेको छ ।
ओलीको गृह जिल्ला झापादेखि उर्जामन्त्री दिपक खड्काको संखुवासभाको घरमा समेत तोडफोड भएको छ । ‘यस्तोमा सबैलाई सुरक्षा दिनु जिम्मेवारी भएकाले हामी परिचालित भएका हौं,’ ती अधिकारीले भने । सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका थिए । २ सय बढी घाइते छन् ।