`

जेनजी आन्दोलन : कहिले निको होला आफन्त गुमाएकाहरुको पीडा, कहिले उठ्लान ध्वस्त संरचना ?

कन्चन धामी २६ भदौ २०८२ १४:३४
बिशेष

काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।

देशभरका विभिन्न अस्पतालमा १,३६८ जना घाइते उपचारमा छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

जलेको मन्त्री निवास

देशभर भएको जेनजी आन्दोलनले सोच्नै नसक्ने भौतिक तथा मानवीय क्षति पुगेको छ । जुन पीडा अहिले हरेक नेपालीको मनभित्र घाउ बनेर दुःखिरहेको छ । १९९० मा तत्कालीन प्रधानमन्त्ती चन्द्रशमशेर जबराले आफ्नो निजी निवासका लागि बनाएको त्यो बेलाको एसियाकै सबै भन्दा ठूलो दरवारका रुपमा चिनिएको सिंहदरवार क्षणभरै खरानीमा परिणत भयो । यस्तै संघीय संसद भवन जहाँ देशको अभिन्न अंग न्यायपालिका, व्यावस्थापिका र कार्यपालिका सञ्चालनमा थिए । त्यो पनि केही मिनेटमै तहस नहस भयो ।

    राष्ट्रपतिको निजी निवास

आज ती ऐतिहासिक संरचना जल्दा राज्यका सबै अङ्गका काम कारवाही खलबलिन पुगेको छ । आन्दोलनपछि सिर्जना भएको अन्योलले देश र जनताको भविष्यकाबारे पनि चिन्ता व्यक्त हुन थालेको छ । अब देशले कुन मोड लिने हो भन्ने कुराको चासो, चिन्ता आम नेपालीमा जागेको छ । न्याय दिने न्यायलयसँगै धेरै पुराना अभिलेखहरु जल्यो, सरकारलाई सेवा दिइरहेका प्रशासन जल्यो, नेपालीको लालपुर्जा दिने मालपोत जल्यो, सिंहदरवार जल्यो । जहाँ नेपालको राणाकाल, पञ्चायत, बहुदलीय र गणतान्त्रिक व्यवस्थासम्मका ऐतिहासिक दस्तावेजहरु सुरक्षित गरेर राखिएका थिए ।

     आगजनीपछिको सिंहदरवार

यस्तै आन्दोलनकै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन जल्यो । अख्तियारमा लागेको आगोसँगै धेरै र ठूला ठूला भ्रष्टाचारका प्रमाणहरु पनि
जले ।  जेनजीको आन्दोलनले एउटा अवसरको ढोका खोले पनि आम नेपालीले धेरै कुरा गुमाउने परेको छ । नेपाल र नेपालीको करबाट निर्माण भएका यतिका भौतिक संरचना अब कहिले र कसरी पुनर्निर्माण हुन्छन् अहिले भन्न सकिने अवस्था छैन ।

          आगजनीपछिको संघीय संसद भवन

एकाएक भएको यो ‘उलटफेर’ आम नेपालीका लागि खुशी र दुःख दुबै बनेर आएको छ । अहिलेको यो अवस्थामा हामी आम नेपालीले जित्यौं कि हार्‍यौं भन्न सकिने अवस्था छैन । देशभरका सुरक्षा निकायका भवनहरु तहसनहस भएका छन् । नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीको बर्दी खोसियो, आक्रोशको आगोमा सुरक्षा निकाय पनि परे, धेरै सुरक्षाकर्मीले पनि ज्यान गुमाउनु परेको छ । छोटो समयमा उठेको यो आन्दोलनको लप्काले देशभर जनधनको क्षति गराएको छ । आन्दोलनका क्रममा होनहार युवासँगै राज्यका धेरै सार्वजनिक सम्पति गुमाउनु परेको छ ।

 जलिरहेको हिल्टन होटल

आन्दोलनकै मौकामा जघन्य अपराध गरेका कैदीकन्दीहरु समेत भाग्न सफल भएका छन् । जो विभिन्न मुद्दा र अभियोगमा जेल गएका थिए । आज देशभरका धेरै कारगार र हिरासतहरुबाट कैदीबन्दी फरार हुँदा सुरक्षाको चुनौति पनि बढेको छ । अपराधका घटनामा सजाय पाएर थुनिएका मानिसहरु आज बाहिरिएपछि सम्बन्धित घटनाका पीडितहरुमा डर, त्रास र असुरक्षा बढेको छ ।

कैदीहरु कारागारबाट भाग्ने क्रममा सेनाले रोक्न खोज्दै

घृणा गर्नेहरूलाई अनफ्रेन्ड वा ब्लक गर्न ट्रेन्ड:

देश भरीका सुरक्षा निकायका भवनहरु तहस नहस बनाए नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीको बर्दी खोसियो अनि उनीहरुलाई नै नांगो बनाएर कुटी कुटी मारियो । अब भन्नोस् त्यो आन्दोलनले कस्को हित गर्‍यो ।

आज यो भनिरहदा कतिले गाली पनि गर्नु हुन्छ, होला तर के यो व्यावस्था परिवर्तन गर्नका निम्ती राज्यका धरोहर अनि सार्वजनिक सम्पति खरानी बनाउन सही थियो त?

नेपाल प्रहरीका सयौं जवान र अधिकृतहरु संगठनको सम्पर्कबाहिर पुगेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन हमलामा परेका देशभरका प्रहरी चौकीबाट ज्यान जोगाएर भागेका र मरणासन्न पारिएका प्रहरीको मनोबल समाप्त भएको छ ।

लाउने लुगा समेत थुतेर फालेपछि अर्धनग्न अवस्थामा सडक,खोला र गल्लीबाट भागेका सयौं प्रहरीले स्थानीयसँग मागेर खाँदै हिँडेको दृष्य पनि सामाजिक सञ्जालमा देखिएका छन् । प्रहरीकर्मीले सामाजिक संजालबाट अहिले एउटा ट्रेण्डिङ नै चलाइरहेका छन्,जसका शब्दहरुले सभ्य मानिसलाई विचलित र भाबुक बनाउँछ ।

सरकारको र संगठनको आदेश मानेर कर्तव्यपालन गर्दा कतिपय प्रहरीले ज्यान गुमाएका छन् भने कति बेपत्ता छन् । जेनजी आन्दोलनको निशानामा परेका प्रहरीले अब आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ट्रेन्ड नै चलाएर आफू प्रहरी भएकोमा घृणा गर्नेहरूलाई अनफ्रेन्ड वा ब्लक गर्न आग्रह गरेका हुन् । उनीहरूले स्टाटसमार्फत मनका पीडा पोख्दै आफू प्रहरी भएको घृणा लागे बहिस्कार गर्न आग्रह गरेका छन् ।

प्रहरीभएकोमा घृणा गर्न आग्रह

उनीले आफ्नो कर्तव्य पालना मात्र गरेको बताउँदै प्रहरीबिना समाजको कल्पना गर्न नसकिने धारणा राखेका छन्। जुन यतिवेला हरेक नागरिकले भावुक हुँदै टुलु टुलु हेरिरहेका छन् ।

आन्दोलनकारीहरूले मङ्गलवार प्रहरीलाई निशाना बनाएर आक्रमण गर्दा कार्यालयहरू, चौकी सबै जलेर खरानी भएका छन् भने महत्त्वपूर्ण कागजपत्रहरूसमेत नष्ट भएको छ । प्रहरी चौकीमा कब्जा गरेर ड्रेस ,सेट,हतियार सबै खोसेर दुरुपयोग गरिरहेका छन् ।

बर्दीको दुरुपयोग

कार्यालयमा भएका प्रहरीहरूलाई समेत लखेटिलखेटी कुटपिट गरेका थिए। अधिकांश प्रहरी कार्यालय जलाउनुको साथै आगो लगाइदिएपछि ज्यान जोगाउन हम्मेहम्मे परेको थियो ।सानो बालबालिकाले समेत प्रहरीको ड्रेस लगाएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोमबार जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाएर २० जनाको ज्यान गएको भन्दै आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए ।

आन्दोलनका नाममा अराजक समूहले प्रहरी चौकीमा आगजनी र हतियार लुटपाट गर्दै हिरासतमा रहेका अपराधीहरु छुटाएपछि तीनै अभियुक्तहरुले कर्तव्यनिष्ठ प्रहरीलाई अर्धनग्न बनाएर लाइनमा उभ्याएर हुर्मत लिँदै कुटपिट गरेका दृष्यहरु पनि अहिले भाइरल भइरहेका छन् ।

प्रहरीमाथि आक्रमण पछि ज्यान जोगाउन भाग्दै

आज विभिन्न अपराधमा संलग्न अपराधीहरु हिरासत र जेलबाट समुदायमा पसेका छन् भने समुदायको रक्षा गर्ने दायित्व बोकेका प्रहरी ज्यान जोगाउन र एक छाक खानका लागि दयालु मान्छेहरुको आश्रय खोजिरहेका छन् ।

समयमा सहि निर्णय गर्न चुक्दा हामीले भविष्यका धेरै कर्णधारसँगै छिनमै धेरै कुरा गुमाएका छन् । जो नेपालको इतिहासमा कहिले बिर्सन नसकिने घटनाको रुपमा दर्ज भएको छ । आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण अहिले देश सरकारविहीन बनेको छ । यो अन्योल जतिसक्दो चाँडो चिर्दै लडेका हामीहरु फेरि उठेर देश पुनर्निर्माणमा जुट्नु पर्ने भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *