अन्तरिम सरकार बनेपछि मधेसका मुख्यमन्त्रीको फेरियो बोली : राजीनामा दिएको छैन


जनकपुरधाम । जेनजीको आन्दोलन उग्र बनेपछि पदबाट राजीनामा घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले अवस्था सामान्य बनेपछि बोली फेरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले अहिले पदबाट राजीनामा नदिएको बताएका छन् । जेन–जीको आन्दोलनको दिन मंगलबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामा दिएका मुख्यमन्त्री सिंह प्रदेश प्रमुखलाई राजीनामा पत्र नबुझाउने भएका छन् । उनले त्यस दिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा लेखेको उनले बताएका छन् ।
‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजीनामा दिनुपर्छ भनेर म तयार छु । त्यो दिन प्रदेश प्रमुख हुनु हुन्नथ्यो । कोही भएको भए दिन्थेँ’ उनले तर्क गरे । तर सो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको उल्लेख नै गरेका थिए । उनले आन्दोलन भइरहँदा डा. सीके राउतको फेसबुक पेजमार्फत मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएपछि सिंहले राजीनामाको घोषणा गरेका थिए ।
‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, मुख्यमन्त्री सिंहले फेसबुकमा लेखेका थिए ।
मंगलबार नै फेसबुकमा राजीनामा दिएका सिंहले हालसम्म प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छैनन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीका स्वकीय सचिय टिका उप्रेतीले मुख्यमन्त्रीको राजीनामा पत्र हालसम्म नआएको बताए ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि अहिले आफू राजनीतिक परिवर्तनको लागि बाधक नबन्ने बताए । उनले आफूलाई हटाएर अरुलाई मुख्यमन्त्री बनाउनको लागि राजनीतिक खेल हुन्छ भने त्यसको लागि आफू तयार नरहेको बताए ।
‘जनधनको क्षति रोक्नको लागि मैले पद त्याग गर्न तयार रहेको समाजिक संजालमा लेखेको थिए तर जनधनको क्षति भएको कारणले अब त्यो कुराको औचित्य सकिएको छ’, उनले भने । जेन–जीको आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको प्रशासनीक भवन, मधेस प्रदेशसभा लगायत विभिन्न सरकारी कार्यालय तथा नेताहरुको घरमा आगजनी गरिएको थियो । २५ जेठ २०८१ मा नेकपा एमाले लगायत ७ दलको समर्थनमा जनमतका सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रको राजनीतिक घटनाक्रमले माओवादीसहितका दल बाहिरिएका थिए । नेपाली कांग्रेसले भने समर्थन गर्दै सरकारमा सहभागी भएको थियो ।