प्रधानमन्त्री कार्कीको मन्त्री बन्न ‘अफर’, सरकारमा नजाने सन्दुक रुइतको जवाफ


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।
जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर, सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् । छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । सञ्चारकर्मीले क्याविनेटमा आउने हो भनेर सोधेको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम यहाँ छोडेर आउने ? बिरामीलाई छाडेर आउँदैन ।’ जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन् ।