मन्त्री बन्ने प्रस्ताव मैले नै अस्वीकार गरेको हुँ : भिमार्जुन आचार्य


काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले मन्त्री बन्नका लागि आएको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफू मन्त्री पदका लागि इच्छुक नरहेको स्पष्ट पारेका छन् । आचार्यले क्याबिनेटमा सहभागी भएमा आफूले जीवनभरि वकालत गरेको संविधानको मूल्य र मान्यतामा सम्झौता हुने र आफ्नो बाँकी जीवन त्यसैको जवाफ दिँदैमा बित्ने उल्लेख गरेका छन् ।
‘जीवनभरि संविधानको मूल्यको कुरा गरेँ, आन्दोलनबाट निर्मित सरकारको सीमा निश्चित हुँंदैन । यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिँदैमा बित्ने हुन्छ,’ उनले लेखेका छन् । उनले मन्त्री पदभन्दा आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिएको बताएका छन् । ‘फेरि मेरो चियाको, रियाजको, लेखनको– जमिनको जिन्दगीको आनन्द, खुशी र स्वतन्त्रता कसरी गुमाउ म !,’ उनले भनेका छन् ।
आचार्यले देशलाई आवश्यक परेको बेला सहयोग गर्न सधैँ तयार रहेको तर त्यसका लागि मन्त्री पद नै आवश्यक नभएको धारणा राखेका छन् । यसअघि डा. सन्दुक रुइतले पनि मन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले आफू बिरामीको उपचारबाट देशको सेवा गर्ने जवाफ दिएका थिए ।