घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीले गुमाइन् एउटा हात
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा घरमा आगजनी हुँदा जलेर घाइते भएकी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारले एउटा हात गुमाएकी छन् । भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगो लगाएका थिए । घरसँगै जलेकी उनको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको देब्रे हात काटिएको खनालले जानकारी दिए । ‘हिजो बुधबार एउटा अप्रेसन भयो । संक्रमण बढ्न थाल्यो भनेर चिकित्सकले अप्रेसन गर्नुपर्छ भन्नुभयो । हामीले अप्रेसन गर्ने अनुमति दियौँ,’ उनले भने, ‘डाक्टरले मेडमको देब्र ेहात काटे । देब्रे हात चाहिँ कुहिनोदेखि तल फाल्यो । उनी पहिलो पटक अपांग भइन् ।’
उनले आज फेरि निमोनियाको संक्रमण पनि देखिएको जानकारी पाएको बताएका छन् । ‘आज निमोनिया देखा पर्यो रे । यसले के गर्ने हो ? यसलाई केही गर्न सकिने हो कि होइन रनभुल्ल परिरहेको छु’ उनले थप भने । ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको भनेर चिकित्सकले भनेको खनाल बताउँछन् । ‘भन्न त १७ प्रतिशत जलेको भनेको छ । के–के हुने हो ख्वै !’ खनालले भने, ‘उनी बोल्न सक्ने अवस्थामा छैनन् । बोल्न खोजेझैं लाग्छ, आवाज आएझैं लाग्छ तर बोली बुझिँदैन ।’
