`

पहिरोले अवरुद्ध सडक ६ घण्टाभित्र खुल्नेगरी काम अघि बढाएका छौं: मन्त्रालय

Nepal One HD ४ असोज २०८२ १४:३७
राजनीति

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।

शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका थिए । सो बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र त्यसका लागि कार्यदल बनाउने जनाइएको छ ।

हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेर सडक अवरुद्ध छ ।

हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालन हुने सम्भावना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *